
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को दोस्रो चरणको खेलमा युरोपेली टोली बेल्जियम र इरानले अंक बाँडेका छन् ।
अमेरिकाको इङ्गलउडमा सोमबार बिहान भएको रोमाञ्चक तथा संघर्षपूर्ण प्रतिस्पर्धा गोलरहित बराबरीमा सकिएको हो ।
यस बराबरीसँगै दुवै टोलीले प्रतियोगितामा लगातार दोस्रो बराबरी खेल्दै समान २ अंक जोडेका छन् । यसअघि आफ्नो पहिलो खेलमा बेल्जियमले इजिप्टसँग १-१ तथा इरानले न्युजिल्यान्डसँग २-२ गोलको बराबरी खेलेका थिए ।
खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले स्पष्ट ३ अंकका लागि आक्रामक रणनीति अपनाएका थिए । खेलको २७ औँ मिनेटमा इरानले गोल गर्दै सुरुवाती अग्रता लिएको संकेत गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) ले त्यसलाई ‘अफसाइड’ घोषित गरिदिएपछि इरान अमूल्य अग्रता लिनबाट चुक्यो ।

पहिलो हाफ गोलरहित सकिएपछि दोस्रो हाफमा बेल्जियम ठुलो संकटमा पर्यो । खेलको ६७ औँ मिनेटमा बेल्जियमका डिफेन्डर नाथन एनगोयले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो ।
मुख्य डिफेन्डर बाहिरिएपछि बाँकी समय इरानले बेल्जियममाथि थप दबाब सिर्जना गरेको थियो । इरानी खेलाडीले केही उत्कृष्ट अवसरहरू बनाए पनि बेल्जियमको मजबुत रक्षापंक्ति र गोलरक्षकले ती प्रयासलाई असफल तुल्याए ।
१० खेलाडीमा समेटिएपछि बेल्जियमले बाँकी समय रक्षात्मक खेल खेल्दै इरानको लगातारको आक्रमणलाई विफल बनायो र खेल बराबरीमा टुङ्ग्याउन सफल भयो । यो बराबरीले समूह ‘जी’ बाट नकआउट चरणमा पुग्ने समीकरणलाई थप रोचक र चुनौतीपूर्ण बनाएको छ ।










प्रतिक्रिया