
धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु २ अरब ६४ करोड ६४ लाखको बजेट ल्याएको छ। आइतबार आयोजित नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले उक्त बजेट सार्वजनिक गरेकी हुन्।
उपमहानगरले आगामी आवका लागि चालुतर्फ रु १ अरब ४३ करोड ६३ लाख र पुँजीगततर्फ रु १ अरब २३ करोड ७६ लाख विनियोजन गरेको छ। बजेटको स्रोतका रूपमा आन्तरिक आयबाट रु ५५ करोड १० लाख र राजस्व बाँडफाँटबाट रु ६० करोड ४५ लाख ३६ हजार संकलन हुने अनुमान गरिएको छ।
चालु आवको रु २ अरब ५६ करोड ४ लाख बजेटमध्ये जेठ मसान्तसम्म रु १ अरब ७७ करोड ४९ लाख ५१ हजार प्राप्त भएको थियो। प्राप्त रकममध्ये हालसम्म रु १ अरब १९ करोड ९४ लाख खर्च भइसकेको उपमहानगरले जनाएको छ।
उपमहानगरले आगामी आवको बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा लोककल्याणकारी कार्यलाई मुख्य प्राथमिकतामा राखेको छ। आगामी वर्ष नगर गौरवका आयोजना सञ्चालन तथा वडा स्वास्थ्य क्लिनिकलाई थप सुदृढीकरण गर्ने नीति बजेटले लिएको छ।
विकास आयोजनाको प्रभावकारी सञ्चालनका लागि आयोजना बैंक स्थापना गरी त्यसमा समावेश आयोजना क्रमशः कार्यान्वयन गर्दै लगिनेछ। युवालाई सीप सिकाएर स्वरोजगार बनाउनका लागि सीप तथा रोजगार मेला सञ्चालन गर्ने कार्यलाई उपमहानगरले आगामी वर्ष पनि निरन्तरता दिने भएको छ।










प्रतिक्रिया