
त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर फरार भएका प्राध्यापक तथा कर्मचारीहरूलाई कारबाहीको दायरामा ल्याउन १५ दिने अल्टिमेटम दिइएको छ।
त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै नियमविपरीत सेवामा नफर्किएका र तोकिएको अवधि पूरा नगरी सेवा छाडेकाहरूलाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएको हो।
तोकिएको समयभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा र नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने समितिले स्पष्ट पारेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको पहल तथा त्रिविको सक्रियतामा हालसम्म अध्ययन बिदा लिएर फरार भएका ५० जना प्राध्यापकहरूबाट ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गराइसकिएको छ।
दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति तयार गर्ने उद्देश्यले विश्वविद्यालयले प्राध्यापकहरूलाई अध्ययन बिदाको विशेष सुविधा प्रदान गर्ने गर्दछ। तर, केही प्राध्यापकहरूले अध्ययन पूरा गरेपछि सम्झौताअनुसार सेवामा नफर्किएर बिदाको चरम दुरुपयोग गर्दा विश्वविद्यालयलाई ठूलो आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको भनाइ छ।
बिदा सुविधा उपयोग गर्ने प्राध्यापकहरूले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नैपर्ने व्यवस्था रहेकाले बाँकी रकम असुली प्रक्रियालाई निरन्तर अघि बढाइने विश्वविद्यालयले जनाएको छ।










प्रतिक्रिया