
अमेरिकी प्रतिनिधिसभाका डेमोक्र्याटिक नेता हाकिम जेफ्रिजले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग केप भर्डेका गोलकिपर भोजिन्हा (जोसिमार डायस)की आमालाई अमेरिका प्रवेश गर्न सहयोग गर्न आग्रह गरेका छन्। भोजिन्याकी आमा आना कान्दिदा एभोरा स्पेनविरुद्धको ऐतिहासिक गोलरहित बराबरीको खेल हेर्न अमेरिका जान पाएकी थिइनन्।
यसको मुख्य कारण अमेरिकी भिसाका लागि आवश्यक धरौटी रकम (बन्ड)को उच्च लागत रहेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जनवरीमा लागू गरेको नियमअनुसार केप भर्डेसहित दर्जनौँ देशका नागरिकले अमेरिका प्रवेशका लागि १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने व्यवस्था गरिएको थियो।
यस नियमको मुख्य उद्देश्य भिसा अवधि नाघेर बस्नेहरूलाई नियन्त्रण गर्नु भए पनि गत महिना अमेरिकाले विश्वकपको टिकट भएका समर्थकका लागि धरौटी व्यवस्था हटाएको घोषणा गरेको थियो। तर त्यसबेलासम्म खर्चको भारका कारण एभोराले अमेरिका जाने योजना नै त्यागिसकेकी थिइन्।
आफ्नो छोराको ऐतिहासिक प्रदर्शन प्रत्यक्ष हेर्न नपाएपछि एभोराले आफूलाई यात्रा गरेर खेल हेर्न निकै मन भए पनि त्यो सम्भव नभएको बताएकी थिइन्। कुनै पनि आमाले आफ्नो सन्तानले इतिहास रचेको क्षण हेर्ने अवसर गुमाउनु नहुने भन्दै नेता जेफ्रिजले आगामी आइतबार हुने केप भर्डेको अर्को खेलमा एभोरालाई उपस्थित गराउन सक्दो पहल गर्न विदेशमन्त्रीलाई आग्रह गरे।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार एभोराले अहिलेसम्म भिसाका लागि आवेदन दिएको अभिलेख भेटिएको छैन। यद्यपि विश्वकपमा सहभागी खेलाडीका परिवारका सदस्यहरू भिसा धरौटी छुटको सुविधाका लागि योग्य हुने भन्दै अमेरिकी प्रशासनले खेलाडीको परिवारसँग सम्पर्क गरेर भिसा प्रक्रियामा सहयोग गरिरहेको जानकारी दिए।
सोमबार विश्वकप डेब्यु खेलमा स्पेनको शक्तिशाली आक्रमण पंक्तिलाई गोल गर्न रोकेका भोजिन्हाले विश्व फुटबल जगतलाई चकित बनाएका थिए। खेल सकिएपछि भावुक हुँदै आँसु झारेका भोजिन्हाले भिसासम्बन्धी समस्या र रकम जुटाउन नसक्दा आफ्नी आमा उपस्थित हुन नसकेको पीडा व्यक्त गर्दै आफूले आमालाई त्यहाँ देख्न चाहेको बताएका थिए ।










प्रतिक्रिया