केप भर्डेले उरुग्वेलाई बराबरीमा रोक्यो, पिनाले रचे इतिहास

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को रोमान्चक खेलमा नवप्रवेशी टोली केप भर्डेले पूर्व विश्व विजेता उरुग्वेलाई २-२ गोलको बराबरीमा रोक्दै इतिहास रचेको छ ।

Advertisement

अमेरिकाको मियामी रंगशालामा सोमबार बिहान भएको खेलमा केप भर्डेले बलियो उरुग्वेविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै अंक खोस्न सफल भयो ।

यसअघि आफ्नो पहिलो खेलमा स्पेनलाई गोलरहित बराबरीमा रोकेको केप भर्डेले प्रतियोगितामा लगातार दोस्रो अप्रत्याशित नतिजा निकालेको हो । यो बराबरीसँगै समूह ‘एच’ मा दुवै टोलीले समान २ अंक जोडेका छन् ।

खेलको २१ औँ मिनेटमा केप भर्डेका केभिन पिनाले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यो गोल केप भर्डेको विश्वकप इतिहासकै पहिलो गोल समेत बन्यो ।

Advertisement

खेलमा पछि परेको उरुग्वेले पहिलो हाफको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्‍यो । उरुग्वेका लागि ४४ औँ मिनेटमा माक्सिमिलियानो अराउजोले बराबरी गोल फर्काए भने पहिलो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा अगस्टिन कानोबियोले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा केप भर्डेले खेलमा फर्कन लगातार प्रयास जारी राख्यो । खेलको ६१ औँ मिनेटमा उरुग्वेका डिफेन्डर म्याथियास ओलिभेराले खराब ब्याक पास दिएपछि केप भर्डेले त्यसको फाइदा उठायो ।

मैदान प्रवेश गरेको केही मिनेटमै केप भर्डेका वैकल्पिक खेलाडी हेलियो भारेलाले उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेरा अघि बढेको अवस्थामा बललाई खाली पोस्टको दिशा दिँदै खेल २-२ को बराबरीमा ल्याए ।

बाँकी समयमा उरुग्वेले गोलका केही अवसर बनाए पनि केप भर्डेको रक्षापंक्तिले त्यसलाई विफल पार्दै ऐतिहासिक अंक सुरक्षित गर्‍यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री