
भारत र नेपालबिच सञ्चालनमा रहेका सीमापार रेलवे लिङ्कहरूको कार्यान्वयन र रेलवे क्षेत्रमा समग्र द्विपक्षीय सहकार्यको समीक्षा गर्न काठमाडौँमा उच्चस्तरीय बैठकहरू सम्पन्न भएका छन्।
दुई देशबिच जेठ २८ र २९ गते १० औँ परियोजना निर्देशक समिति (पीएससी) र ८ औँ संयुक्त कार्यदल (जेडब्ल्युजी) को बैठक आयोजना गरिएको हो।
बैठकमा दुवै पक्षले भारत सरकारको अनुदान सहयोगमा विकास भइरहेका जयनगर–विजलपुरा–बर्दिबास र जोगवनी–विराटनगर ब्रोडगेज रेलवे लाइनहरूको हाल भइरहेको निर्माण कार्यका सम्बन्धमा विस्तृत छलफल गरे। निर्धारित समयमै काम सम्पन्न गर्न दुवै देशका अधिकारीहरूले थप समन्वय गर्ने प्रतिबद्धता जनाए।

यसका साथै जनकपुर–अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा प्रारम्भ गर्नका लागि मानक सञ्चालन कार्यविधि (एसओपी) को मस्यौदामा पनि बैठकमा गहन छलफल भएको छ। यो सेवा सुरु भएपछि दुई देशका धार्मिक पर्यटकहरूलाई ठूलो सहजता मिल्ने विश्वास लिइएको छ।
बैठकमा बहुप्रतीक्षित रक्सौल–काठमाडौँ ब्रोडगेज रेलवे लिङ्कको फाइनल लोकेसन सर्भे (एफएलएस) प्रतिवेदनका विषयमा पनि कुराकानी भयो। नेपालको राजधानीलाई भारतसँग जोड्ने यो रेलमार्गको प्राविधिक तथा व्यावहारिक पक्षबारे दुवै पक्षले आ-आफ्नो धारणा राखेका थिए।

यसैगरी नेपालको पूर्व–पश्चिम रेलवे लिङ्कका लागि आवश्यक प्राविधिक सहयोग र दुई देशलाई जोड्ने थप अन्य सम्भावित रेलवे लिङ्कका बारेमा समेत बैठकमा छलफल गरिएको छ। रेलवे क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउन दुवै पक्षले निकट सहकार्य र निरन्तर समन्वयलाई निरन्तरता दिने सहमति जनाएका छन्।










प्रतिक्रिया