अव्यवस्थित तार हटाइँदै

काठमाडौँ उपत्यकाको सहरी सौन्दर्य र सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै विभिन्न सडक खण्डहरूबाट प्रयोगविहीन तार हटाउने अभियान तीव्र पारिएको छ।

Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको संयुक्त अग्रसरतामा यो कार्य अगाडि बढाइएको हो।

उपत्यकाका मुख्य तथा बढी भीडभाड हुने त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, जडीबुटी र पेप्सीकोला क्षेत्रबाट प्रयोगविहीन तारहरू धमाधम हटाइँदै छ। यसैगरी लाजिम्पाट, सामाखुशी टाउन प्लानिङ, गोँगबु, कीर्तिपुर, पुरानो बानेश्वर, गौशाला र चाबहिल क्षेत्रमा पनि यो अभियान सञ्चालन गरिएको छ।

Advertisement

सडक किनाराका पोलहरूमा वर्षौँदेखि थुप्रिएका ओभरहेड तारका कारण सहर कुरुप बनेको र आगलागीको जोखिम बढेको भन्दै सरकारले यो कदम चालेको हो।

विद्युत् र सञ्चारका काम नलाग्ने तारहरू हटेपछि काठमाडौँको सहरी सौन्दर्यतामा उल्लेख्य अभिवृद्धि हुने विश्वास लिइएको छ। अव्यवस्थित तारका कारण पैदलमार्गी तथा सवारी चालकले भोग्दै आएको सार्वजनिक सुरक्षाको चुनौती पनि यसबाट अन्त्य हुनेछ।

तार हटाउने कार्यले सडक क्षेत्रमा हुने सम्भावित दुर्घटना र जोखिम न्यूनीकरण गर्न ठूलो मद्दत पुग्ने अपेक्षा सरकारी निकायको छ। सम्बन्धित मन्त्रालयहरूले इन्टरनेट तथा केबल सेवा प्रदायकहरूसँगको समन्वयमा यो कामलाई निरन्तरता दिइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री