विमानस्थल ‘काउन्टर सेटिङ’ धन्दा: वायुसेवाका दुई कर्मचारी पक्राउ, यसरी हुन्थ्यो सेटिङ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा निगमका कर्मचारीको मिलेमतोमा भारतीय नागरिकलाई अवैधानिक रूपमा दुबई उडाइएको घटना सार्वजनिक भएको छ। भिजिट भिसामा विदेश पठाउन ‘काउन्टर सेटिङ’ गरेको आरोपमा प्रहरीले नेपाल वायुसेवा निगमका दुई जना करारका ग्राउण्ड ह्याण्डेलिङ स्टाफलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा निगममा कार्यरत प्रबिन लामिछाने र सुमित्रा चन्द रहेका छन्। उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र विमानस्थल सुरक्षा कार्यालयको समन्वयमा आइतबार नियन्त्रणमा लिइएको हो।

यसरी हुन्थ्यो सेटिङ

Advertisement

अध्यागमन विभागको अनुसन्धान अनुसार पक्राउ परेका कर्मचारीले ती भारतीय नागरिकलाई सुरुमा भारत जाने बोर्डिङ पास उपलब्ध गराएका थिए। सुरक्षा जाँच पार गरिसकेपछि भने उनलाई चलाखीपूर्वक दुबई जाने अर्को बोर्डिङ पास थमाइएको थियो।

सुरक्षा जाँच पार गरेलगत्तै सुमित्राले ती नागरिकबाट इन्डीगो एयरलाइन्सको बोर्डिङ पास फिर्ता लिएको सिसिटिभी फुटेजमा देखिएको छ। ती भारतीय नागरिक जेठ ३ गते नै फ्लाई दुबईको उडानबाट दुबई प्रस्थान गरिसकेको अध्यागमनको रेकर्डमा फेला परेको छ।

नियम मिचेर प्रस्थान अनुमति

नेपालको बाटो हुँदै तेस्रो मुलुक जानका लागि भारतीय नागरिकले अनिवार्य रूपमा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पेस गर्नुपर्ने कानुनी प्रावधान छ। तर पक्राउ परेका कर्मचारीले प्रस्थान अनुमति नै दिन नमिल्ने यात्रुलाई प्रलोभनमा परी दुई वटा विमान कम्पनीको बोर्डिङ पास दिलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

विमानस्थलमा ग्राउण्ड ह्याण्डेलिङमा कार्यरत कर्मचारीबाटै यस्तो सेटिङ हुने गरेको सुराक पाएपछि अध्यागमन विभागले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले समातिएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको बताए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री