कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु: ४० अर्ब लागत

म्याग्दी जिल्लाकै हालसम्मकै ठूलो जलविद्युत् आयोजनाको रूपमा हेरिएको १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको प्रयोग गरी सुरुङ निर्माण थालेको हो।

आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठका अनुसार ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ग्लोबल आइएमी बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकले लगानी गर्ने सहमति भएको छ। प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत सेयर लगानीको व्यवस्था मिलाइएको जानकारी पनि श्रेष्ठले दिए।

चार ठाउँबाट सुरुङ खनिँदै

Advertisement

आयोजना निर्देशक रमण सिंहले आगामी चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए। यस आयोजनाले छिट्टै बाँध, गाडपार र घरापमा प्रस्तावित विद्युत्गृह निर्माणस्थलबाट गरी चार ठाउँबाट सुरुङ निर्माण गर्ने तयारी गरेको जानकारी पनि सिंहले दिए।

‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनामा ५ किलोमिटर ६०० मिटर लामो सुरुङ र १ किलोमिटर ‘पेनस्टक’ पाइपलाइन रहनेछ। विद्युत्गृहदेखि ‘आउटलेट’को उचाइ ४८० मिटर रहेको र मुख्य निर्माणका लागि सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालित भइसकेको सिंहले बताए।

मुस्ताङमा बाँध, घरापमा विद्युत्गृह

मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको पहिरा थाप्लामा आयोजनाको बाँध रहनेछ। त्यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा विद्युत्गृह निर्माणको तयारी भएको छ।

आयोजना स्थलमा पुग्न आठ किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ भने गाडपारमा बेलिब्रिज जडानको तयारी गरिएको छ। घरापदेखि दानासम्म २२० केभी क्षमताको १ किलोमिटर प्रसारण लाइन निर्माण गरेर उत्पादित विद्युत केन्द्रीय प्रणालीमा आबद्ध गराइनेछ।

जलविद्युत्को ‘हब’ बन्दै म्याग्दी

Advertisement

धार्मिक विधिपूर्वक पूजाआजा गरेर निर्माण शुभारम्भ गरिएको यस कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले यो म्याग्दीकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएको बताए। उनका अनुसार नारच्याङ भएर बग्ने नदीहरूमा मात्रै १६२ मेगावाट क्षमताका ५ वटा जलविद्युत् आयोजना निर्माण भई सञ्चालनमा आइसकेका छन्।

यस क्षेत्रमा ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्तीखोला, ३८ मेगावाटको नीलगिरि–१, ७१ मेगावाटको नीलगिरि–२ र ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना सञ्चालनमा छन्। यसबाहेक नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव ३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युुत् आयोजना निर्माणाधीन छ भने ९ दशमलव १४ मेगावाटको सुपर घलेम्दीले निर्माण सुरु गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री