
नेपालको कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२ मा बिहीबार नेपाल–भारत मैत्री अस्पताल भवन निर्माणको शिलान्यास गरिएको छ।
भारत सरकारको करिब १४ करोड ८० लाख रुपैयाँ आर्थिक सहयोगमा यो सुविधासम्पन्न अस्पताल भवन निर्माण हुन लागेको हो।
उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत चंखेली गाउँपालिकामार्फत यो अस्पताल भवन निर्माणको कार्य अगाडि बढाइनेछ। चंखेली गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गरे।

यो नयाँ स्वास्थ्य संरचनाले चंखेली गाउँपालिका र आसपासका क्षेत्रमा स्वास्थ्य सेवाहरूको पहुँचलाई थप सहज र सुदृढ बनाउन ठूलो मद्दत पुर्याउने विश्वास उनीहरूले व्यक्त गरे।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एक भिडियो सन्देशमार्फत परियोजनाका सम्पूर्ण सरोकारवालाहरूलाई शुभकामना दिए। साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धतालाई उनले दोहोर्याए।
नेपाल–भारत मैत्री अस्पताल भवन परियोजना हुम्ला जिल्लाकै तेस्रो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो। यसअघि भारत सरकारले सर्केगाडस्थित श्री सरस्वती माध्यमिक विद्यालयको हाताभित्र पुस्तकालय भवन र चंखेली–दार्मास्थित श्री महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला तथा पुस्तकालय भवन निर्माण गर्न अनुदान सहयोग उपलब्ध गराएको थियो।
यसका साथै भारत सरकारले सन् २०२४ जुलाईमा हुम्ला जिल्लाका चंखेली, सर्केगाड र सिमकोट गाउँपालिकाका निर्वाचित प्रतिनिधिहरू सम्मिलित १० सदस्यीय टोलीका लागि भारतमा अध्ययन भ्रमणको समेत आयोजना गरेको थियो।










प्रतिक्रिया