काभ्रे बस दुर्घटना:  दुर्घटनाको कारण पहिचान गर्न सरकारको निर्देशन

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा भएको यात्रुवाहक बस दुर्घटनाको कारण पहिचान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

Advertisement

शुक्रबार भएको सो भयानक दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १६ जना यात्रु घाइते भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। घटनाको सत्यतथ्य छानबिन गरी दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकिएको विज्ञप्तिमा जनाइएको छ।

Advertisement

सरकारले घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि निर्देशन दिएको छ। दुर्घटनालगत्तै जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह र स्वास्थ्य संस्थाहरूको समन्वयमा उद्धार कार्य गरिएको थियो।

दुर्घटनाका मृतकसहित सबै घाइतेहरूको पहिचान खुलेको छ। घाइते भएका १६ जना यात्रुहरूको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री