
नोभेम्बर २०२० मा मेक्सिकन स्ट्राइकर राउल जिमेनेजले एउटा यस्तो भयानक चोटको सामना गर्नुपरेको थियो । जसका कारण उनको ज्यान नै जाने खतरा बढेको थियो। यद्यपि, उनले मृत्युलाई परास्त गर्दै फिफा वल्डकप २०२६ को मैदानमा मात्र फर्किएनन्, बरु मेक्सिकोको जितको नायकसमेत बने।
आर्सनल र वूल्भ्सबीचको प्रिमियर लिग खेलका क्रममा आर्सनलका डिफेन्डर डेभिड लुइजसँग हावामा बल खोस्ने क्रममा जिमेनेजको टाउको जोडले ठोक्किएको थियो। टाउको ठोक्किनासाथ उनी मैदानमा बेहोस भई ढलेका थिए र मैदानमै करिब १० मिनेटसम्म उनको आपत्कालीन उपचार गरी अस्पताल पुर्याइएको थियो। अस्पतालमा उनको खप्परको हड्डी भाँचिएको (स्कल फ्र्याक्चर) पुष्टि भएपछि तत्कालै टाउकोको आकस्मिक शल्यक्रिया गरिएको थियो।
चिकित्सकहरूका अनुसार सो चोट यति गम्भीर थियो कि उनको ज्यान जान सक्ने वा फुटबल करियर सधैँका लागि समाप्त हुन सक्ने अवस्था थियो। शल्यक्रिया सफल भए पनि उनलाई लामो समयसम्म अन्य खेलाडीसँग सामान्य प्रशिक्षण गर्न समेत प्रतिबन्ध लगाइएको थियो।
चोट लागेको करिब आठ महिनापछि जिमेनेजले टाउकोमा एउटा विशेष सुरक्षा ब्यान्ड (प्रोटेक्टिभ हेडगियर) लगाएर फुटबल मैदानमा पुनरागमन गरे। त्यस दुर्घटनापछि उनले थप चोटबाट बच्नका लागि मैदानमा खेल्दा सधैँ यो ब्यान्ड लगाउने गरेका छन्।
मृत्युको मुखबाट फर्किएका ३५ वर्षीय यी स्ट्राइकरले हालै फिफा विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिकाविरुद्ध निर्णायक गोल गर्दै मेक्सिकोलाई सानदार जित दिलाए।
स्टेडियममा उपस्थित ८० हजारभन्दा बढी दर्शकमाझ रोबर्टो अल्भाराडोको पासलाई जिमेनेजले खेलको ६७ औँ मिनेटमा सुन्दर गोलमा परिणत गर्दै मेक्सिकोलाई २–० को सानदार जित दिलाए। खेलमा जुलियन क्विनोनेसले नवौँ मिनेटमा पहिलो गोल गरेका थिए।
जिमेनेजका लागि यो गोल केवल फुटबलको तथ्याङ्क मात्र थिएन, यो उनको चौथो विश्वकप सहभागितामा करियरकै पहिलो विश्वकप गोल थियो।एजेन्सी










प्रतिक्रिया