
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उद्योगी शेखर गोल्छाले दिएको बयानमा मुख्य आरोपी दीपक भट्टसँगको दूरी कानुनी रूपमा स्थापित गर्न व्यावसायिक साझेदारीलाई पूर्णतः इन्कार गरेका छन्।
गोल्छाले भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नम्बर ५५) मा ५२ करोड ५० लाख रुपैयाँ जम्मा गरेको स्वीकार गरेका छन्। आफ्ना व्यावसायिक साथीहरू रोहित गुप्ता, राजबहादुर शाह, शुलभ अग्रवाल र अमित मोरसँग सल्लाह गरी दोस्रो बजारमा सेयर किन्न सो रकम दिएको उनले बताएका छन्।
ब्रोकर कम्पनीमा आफ्नो डिम्याट खातासमेत नभएको अवस्थामा साथीहरूको विश्वासमा वैधानिक रकम दिएको उनको भनाइ छ। सेयर बजार अनुकूल नभएको र लगानी जोखिममा पर्न सक्ने आँकलन गरेर नै हालसम्म सेयर खरिद नगरिएको तर्क गरेका छन्।
उक्त रकम दीपक भट्टको नाममा सेयर खरिद गर्न वा कुनै कसूरजन्य कार्यका लागि सहजीकरण गर्न नदिइएको उनले स्पष्ट पारेका छन्। खातामा रहेको मौज्दात रकम ब्रोकरले कसैको भुक्तानी सेटलमेन्टमा प्रयोग गरेको हुन सक्ने र सो रकम १ महिनाभित्र फिर्ता गर्ने आश्वासन पाएको उनले उल्लेख गरेका छन्।
प्रकरणका मुख्य पात्र दीपक भट्टसँग आफ्नो कुनै प्रत्यक्ष व्यावसायिक सम्बन्ध नभएको गोल्छाले दाबी गरेका छन्। भट्टसँग केवल ३–४ पटक मात्र सामान्य भेटघाट भएको र आफ्नो जानकारीमा रहेसम्म कुनै पनि प्रालिमा संयुक्त लगानी नरहेको उनले स्पष्ट पारेका छन्।
नेपाल रिइन्सुरेन्सको मुख्य कित्ता सेयर हात पार्ने योजनासहित ब्रोकर कम्पनीमा रकम जम्मा नगरेको उनले बताएका छन्। नेपाल रिइन्सुरेन्सको सेयर खरिद गर्ने उद्देश्यले ब्रोकरलाई रकम उपलब्ध नगराएको उनको जिकिर छ।
शुलभ अग्रवालसँग केही कम्पनीमा संयुक्त लगानी रहे पनि भट्टसँगको दूरी कानुनी रूपमा स्थापित गर्न उनले जोड दिएका छन्।
हिमालयन रिइन्सुरेन्सको सञ्चालक समिति अध्यक्षबाट करिब १० दिनअघि मात्र राजीनामा दिएको गोल्छाले जानकारी दिएका छन्। हिमालयनको ३ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी रकम प्रयोग गरी दीपक भट्टको व्यक्तिगत नाममा सेयर खरिद गरिएको विषयमा आफू पूर्णतः अनविज्ञ रहेको उनले बताएका छन्।
पब्लिक लिमिटेड कम्पनीको रकम प्रयोग गरी व्यक्तिका नाममा सेयर खरिद गर्ने कानुनप्रतिकूल निर्णय आफ्नो कार्यकालमा नभएको उनले स्पष्ट पारेका छन्। यस्तो विवादित कार्यमा आफ्नो कतै पनि सहीछाप वा दस्तखत नरहेको र खर्च विवरण समावेश भएको वित्तीय विवरणमा आफूले हस्ताक्षर नगरेको उनले उल्लेख गरेका छन्।
ब्रोकरको खाता प्रयोग गरी शुलभ अग्रवालकी श्रीमती शुभी अग्रवालको खातामा ४५ करोड र ऋषिराज मोरको खातामा ३१ करोड १९ लाख रुपैयाँ रकमान्तर भएको विषय बयानकै क्रममा थाहा पाएको उनले बताएका छन्। यो कारोबार आफ्नो जानकारी र निर्णयबाहिरको भएकाले आफू नैतिक र कानुनी रूपमा जिम्मेवार नभएको र बदनियत राख्नेमाथि छानबिन हुनुपर्ने माग उनले गरेका छन्।










प्रतिक्रिया