ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा बिन्द्रा हाडा भट्टराई

ग्लोबल आइएमई बैंक लिमिटेडको रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा बिन्द्रा हाडा भट्टराई चयन भएकी छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Advertisement

नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विशेष समारोहका बीच सञ्चालक समितिमा स्वागत गरे । उक्त स्वागत कार्यक्रममा बैंकका अन्य सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन र विकास व्यवस्थापनको क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव रहेको छ । पूर्व सचिव समेत रहेकी उनले सिँचाइ मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय र राष्ट्रिय योजना आयोगमा काम गरिसकेकी छन् ।

Advertisement

यसका साथै उनले राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत सेवा गरेकी थिइन् । उनको यो बृहत् अनुभवले बैंकको व्यावसायिक रणनीति, सामाजिक उत्तरदायित्व र दिगो विकासका लक्ष्यहरूलाई अझ परिष्कृत रूपमा अगाडि बढाउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

उनले त्रिभुवन विश्वविद्यालयबाट रसायन शास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेकी छन् । उच्च शिक्षाकै क्रममा उनले अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाबाट पब्लिक पोलिसी (ट्रेड एण्ड फाइनान्स) र ड्युक युनिभर्सिटीबाट नन्प्रफिट म्यानेजमेन्टको अध्ययन पुरा गरेकी हुन् ।

भट्टराई हाल साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्टको कार्यकारी सदस्यका रूपमा क्रियाशील छिन् । यसका साथै उनी प्रोफेसलन होल्डिङको स्वतन्त्र सञ्चालकका रूपमा समेत आबद्ध रहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री