आइतबार, ९ कार्तिक २०८२

सानिमा बैंकलाई चिनियाँ एक्जिम बैंकको एजेन्ट बैंक नियुक्त, दुई ठूला जलविद्युत आयोजनालाई वित्तीय सहजीकरण

समयपोष्ट २०८२ भदौ ६ गते १३:२७

Advertisement

सानिमा बैंक लिमिटेडलाई चीनको निर्यात-आयात (एक्जिम) बैंकले नेपालका लागि आफ्नो एजेन्ट बैंकको रूपमा नियुक्त गरेको छ। यो नियुक्ति २५५ मेगावाट क्षमताका दुई ठूला जलविद्युत आयोजनाहरू—मनाङ मर्स्याङ्दी हाइड्रोपावर (१३५ मेगावाट) र लाङटाङ भोटेकोशी हाइड्रोपावर (१२० मेगावाट)—का लागि वित्तीय सहजीकरण गर्न गरिएको हो।

यस सम्बन्धमा सानिमा बैंक र चिनियाँ एक्जिम बैंकबीचको सम्झौतामा चीनको सिचुआनमा आयोजित एक विशेष समारोहमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार सानिमा बैंकले यी दुई आयोजनाका लागि चिनियाँ एक्जिम बैंकको तर्फबाट मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछ।

हस्ताक्षर समारोहमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज सञ्ज्याल र चिनियाँ एक्जिम बैंकको सिचुआन शाखाकी उपाध्यक्ष वु यानजुनले सम्झौतापत्रमा हस्ताक्षर गरे। कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, एक्जिम बैंक सिचुआन शाखाका अध्यक्ष चेन शेङचोङ, र मुख्य लगानीकर्ता कम्पनी इन्टरनेशनलका अध्यक्ष लियाओ बिनको पनि उपस्थिति थियो।

कार्यक्रममा बोल्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले चिनियाँ एक्जिम बैंकले आफ्नो संस्थालाई विश्वास गरी एजेन्ट बैंकको रूपमा छनौट गरेकोमा कृतज्ञता व्यक्त गरे। उनले यो सहकार्यले सानिमा बैंकको अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने र नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरे।

Advertisement

सो अवसरमा चिनियाँ एक्जिम बैंक र लगानीकर्ता कम्पनीका प्रतिनिधिहरूले यी आयोजनाहरूलाई तोकिएको समयमै सम्पन्न गर्न संयुक्त प्रतिबद्धता जनाए। उनीहरूले सानिमा बैंकको भूमिकालाई महत्वपूर्ण ठहराउँदै यी आयोजनाहरू भविष्यमा अन्य क्षेत्रमा सहकार्यको आधारशिला बन्ने विश्वास व्यक्त गरे।

यो सम्झौताले नेपालमा हालसम्मकै ठूलो परिमाणमा चिनियाँ मुद्रा (युआन) को अन्तरदेशीय कारोबार भित्र्याउन सानिमा बैंक सफल भएको छ। यसले बैंकको कार्यक्षमता र विश्वसनीयता अभिवृद्धि गर्नुका साथै नेपालको दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री