प्रधानमन्त्री कार्कीसँग बालुवाटारमा दलहरूको संवाद सुरु, को- को छन् सहभागी ?
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग संवाद सुरु गरेकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ११ दलका नेताहरूसँग प्रधानमन्त्री कार्कीले संवाद सुरु गरेकी हुन् ।
आफूले कार्यभार सम्हालेपछि पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गरिरहेकी हुन् । कार्कीको सचिवालयले राजनीतिक दलहरूसँग निर्वाचनबारे संवाद गरिरहेको जानकारी दिएको छ ।
कार्कीसँग छलफलका लागि विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ दलमध्ये ११ दलका नेता बालुवाटार पुगेका छन् ।
सचिवालयका अनुसार छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी छन् । त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली छन् ।
प्रधानमन्त्रीको सचिवालयले नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी भएको जानकारी दिएको छ ।
जनमत पार्टीबाट चन्दनकुमार सिंह र एकीकृत समाजवादी पार्टीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वाला सहभागी रहेको जानकारी दिएको छ ।
आगामी चुनावका लागि आयोजित राजनीतिक दलहरूसँगको संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन् ।
प्रतिक्रिया