एनसेलको नयाँ सीईओमा माइकल फोले नियुक्त, कार्तिक १५ देखि कार्यभार सम्हाल्ने

नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलले माइकल फोलेलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। यो नियुक्ति कार्तिक १५, २०८२ देखि लागू हुनेछ।
एनसेलका कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काका अनुसार फोलेले कार्यवाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका सैयद इनामुल कबीरको स्थान लिनेछन्। कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ) को भूमिकालाई निरन्तरता दिनेछन्।
दुई दशकभन्दा बढी समयदेखि दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव संगालेका फोलेले विभिन्न अन्तरराष्ट्रिय कम्पनीहरूमा उल्लेखनीय सफलता हासिल गरेका छन्।
एनसेलमा आबद्ध हुनुअघि उनले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा सातवटा फ्रान्कोफोन अफ्रिकी बजारहरूको सञ्चालन सम्हालेका थिए। यसअघि, टेलिनोर पाकिस्तानको सीईओको रूपमा उनले चुनौतीपूर्ण व्यवसायिक वातावरणमा कम्पनीलाई बजारमा अग्रणी वृद्धि, नाफा र कर्मचारी संलग्नतामा सफलता दिलाएका थिए।
फोलेले ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया) मा सीईओको भूमिका निर्वाह गर्दै व्यवसायिक रूपान्तरणको नेतृत्व गरेका थिए, जसले ग्राहक संख्या ७ करोड नाघ्नुका साथै ईबिट्डामा ६० प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेको थियो। उनले टामीर माइक्रोफाइनान्स (हालको इजीपैसा, पाकिस्तान) र टेलिनोर हेल्थको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका छन्। हाल उनी अफ्रिकाको अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु डीआरसी एसएको अध्यक्ष छन्।
नियुक्तिप्रति उत्साहित फोलेले भने, “एनसेलको नेतृत्व गर्ने अवसर पाउनु मेरो लागि गर्वको कुरा हो। एनसेल नेपालको डिजिटल पूर्वाधारको महत्वपूर्ण हिस्सा हो, जसले डिजिटल रूपान्तरण, आर्थिक प्रतिस्पर्धात्मकता र विदेशी लगानी आकर्षणको सम्भावना बोकेको छ। आजको डिजिटल र एआई-संचालित युगमा दूरसञ्चार कम्पनीहरू केवल सेवा प्रदायक मात्र नभई समाजको डिजिटल संरचना निर्माणकर्ता हुन्। हामी आधुनिक अर्थतन्त्रको आधार बनेका छौं। हाम्रो जिम्मेवारी भनेको सेवाहरू सुदृढ गर्दै भावी पुस्तालाई सशक्त बनाउनु हो।”
एनसेलको सञ्चालक समितिले फोलेको नेतृत्वमा पूर्ण विश्वास व्यक्त गर्दै भने, “हामी माइकल फोलेलाई एनसेलको नेतृत्वमा स्वागत गर्न उत्साहित छौं। उनको अनुभव र रणनीतिक दृष्टिकोणले एनसेलको रूपान्तरणलाई गति दिन र हाम्रा समुदायलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई बलियो बनाउनेछ।”
क्यानडा र केन्याका दोहोरो नागरिक फोले म्याकगिल विश्वविद्यालयका स्नातक हुन् र इनसिएडबाट ग्लोबल म्यानेजमेन्ट र गभर्नेन्समा एक्सिक्युटिभ सर्टिफिकेट प्राप्त गरेका छन्।
सन् २००४ मा स्थापना भएको एनसेल नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक हो, जसले २००५ देखि सेवा प्रदान गर्दै आएको छ। कम्पनीले प्रत्येक नेपालीलाई कनेक्टिभिटीको लाभ प्रदान गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। स्पेक्ट्रलाइट यूके लिमिटेडसँगको सहकार्यमा एनसेल डिजिटल नेपालको आकांक्षा पूरा गर्न नवीन र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छ।
डिसेम्बर १, २०२३ मा स्पेक्ट्रलाइट यूके लिमिटेडले आजियाटा यूकेबाट रेनल्ड्स होल्डिङ्स लिमिटेडको सतप्रतिशत सेयर खरिद गरेको थियो, जसको एनसेलमा ८० प्रतिशत स्वामित्व छ। नेपालका ठूला करदातामध्ये एक एनसेलले हालसम्म ३६० अर्ब रुपैयाँभन्दा बढी कर तिरिसकेको छ। साथै, एनसेल फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य, वातावरण र संस्कृति संरक्षण जस्ता क्षेत्रमा २ अर्ब रुपैयाँभन्दा बढी योगदान गरेको छ, जसले दिगो विकास लक्ष्य (एसडीजी) मा सहयोग पुर्याइरहेको छ।




























प्रतिक्रिया