एनपीएल तेस्रो संस्करणको अक्सन सोमबार: ५२ स्थानका लागि १५५ खेलाडीबिच प्रतिस्पर्धा,कुन क्याटेगोरीमा को ? 

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सन सोमबार हुँदैछ। यसपटक अक्सनका लागि कुल १५५ जना खेलाडी छनोट भएका छन्।

Advertisement

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगितामा नाम दर्ता गराएका ३४७ जनामध्येबाट यी खेलाडी छानिएका हुन्। अक्सनमार्फत विभिन्न फ्रेन्चाइज टोलीले ५२ जना खेलाडीका लागि बोली लगाउनेछन्।

छनोट भएका खेलाडीमध्ये ५ जना क्याटेगोरी ‘ए’ मा सूचीकृत छन्। त्यस्तै २७ जना क्याटेगोरी ‘बी’ र सबैभन्दा धेरै १२३ जना क्याटेगोरी ‘सी’ मा रहेका छन्।

क्यानका अनुसार यस संस्करणमा हरेक टोलीमा दुई जना नेपाली खेलाडी थपिनेछन्। मार्की खेलाडी र ट्यालेन्ट हन्टसहित अब हरेक टोलीमा कुल १४ जना नेपाली खेलाडी समावेश हुनेछन्।

खेलाडी किन्नका लागि सबैभन्दा बढी रकम जनकपुर बोल्ट्ससँग रहेको छ। उसको पर्समा ६६ लाख २५ हजार रुपैयाँ बाँकी छ।

त्यसैगरी बिराटनगर किंग्ससँग ५१ लाख ५० हजार रुपैयाँ रकम उपलब्ध छ। लुम्बिनी लायन्ससँग ४९ लाख २५ हजार र पोखरा एभेन्जर्ससँग ४५ लाख ५० हजार रुपैयाँ रहेको छ।

सुदूरपश्चिम रोयल्सले ४२ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछ। कर्णाली याक्स र चितवन राइनोजसँग समान ४२ लाख रुपैयाँ रहँदा काठमान्डु गोर्खाजसँग सबैभन्दा कम ३४ लाख रुपैयाँ मात्र बाँकी छ।

यसअघि भएको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो। दोस्रो संस्करणमा भने लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो।

सुदूरपश्चिम रोयल्स भने दुवै संस्करणमा उपविजेतामै सिमित बनेको इतिहास छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री