अमेरिकी प्रशान्त टापुहरू नजिक २५० किमीभन्दा बढी गतिको विनाशकारी आँधी आउने, हजारौँ मानिस आपतकालीन केन्द्रतर्फ

गुआम र उत्तरी मारियाना क्षेत्रमा ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम बढेपछि आइतबारदेखि मानिसहरू आपतकालीन उद्धार केन्द्रहरूमा भेला हुन थालेका छन्। बावी नाम दिइएको यो प्रतिघण्टा २६० किलोमिटर गतिको आँधी सोमबार बिहान यस क्षेत्रमा ठोक्किने अनुमान गरिएको छ।

Advertisement

अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्लयुएस) ले प्रणालीको केन्द्र नजिक विनाशकारी क्षति हुनसक्ने चेतावनी दिएको छ। समुद्रमा ३५ फिट अर्थात् करिब १० तले भवन जत्तिको अग्लो लहर उठ्ने प्रक्षेपण गरिएकाले तटीय क्षेत्र डुबानमा पर्ने ठूलो सम्भावना छ।

भारी वर्षा र तीव्र हावाका कारण आइतबार गुआमका सडकमा गाडीहरू निकै कम गुडेका छन्। स्थानीय व्यवसायी पिन्की कुबाकुबले ५ सय डलरको प्लाईवुड किनेर आफ्नो रेष्टुरेन्ट सुरक्षित बनाउन लागिपरेको बताए।

उडानहरू रद्द हुँदा केही विदेशी पर्यटक अलपत्र परेका छन् भने केही स्थानमा सर्फरहरूले बढेको छालको फाइदा उठाइरहेका छन्। पश्चिमी प्रशान्त महासागरको यो क्षेत्रमा गुआम र उत्तरी मारियाना गरी कुल २ लाख १० हजारभन्दा बढी जनसङ्ख्या बसोबास गर्छन्।

यसअघि मध्य अप्रिलमा आएको सिन्लाकु र सन् २०२३ को मावर आँधीले यस क्षेत्रमा महिनाँैसम्म बिजुली र पानी अवरुद्ध पारेर ठूलो क्षति पुर्‍याएका थिए। पुराना विपद्‌बाट पाठ सिक्दै यसपटक अधिकारीहरूले पाँच वटा उद्धार केन्द्रसहित राहत सामग्रीको बलियो बन्दोबस्त गरेका छन्।

संघीय आपतकालीन व्यवस्थापन निकायले ११ लाख लिटर पानी, १२ लाख जनाका लागि खाना र ६ हजार ७ सय ओछ्यान तयारी अवस्थामा राखेको छ। रोताका मेयर अउब्री होकोगले सावधानी अपनाएर परिवार जोगाउन आग्रह गर्दै नागरिकको सुरक्षाका लागि प्रार्थना गरेका छन्।

युरोपेली सङ्घको कोपरनिकस मरिन सर्भिसका अनुसार विश्वका महासागरको तापक्रम कीर्तिमानी स्तरमा बढेकाले आँधीहरू थप शक्तिशाली बन्दै गएका हुन्। तातो समुद्रले वायुमण्डलमा बढी आद्रता थप्ने हुँदा अल्पकालमै भीषण वर्षा र चक्रवातको रूप लिने गर्दछ।

विश्व मौसम सङ्गठनले प्रशान्त क्षेत्रमा एल निनोको प्रभाव सुरु भइसकेको र यो आगामी दिनमा अझ बलियो हुने चेतावनी दिएको छ। यस प्राकृतिक चक्रले प्रशान्त महासागरको सतहको तापक्रम बढाएर विश्वभरकै वर्षा र वायुको ढाँचा बदल्ने गर्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री