
प्रिमियर लिगको सबैभन्दा रोमान्चक र चर्चित व्यक्तिगत टकराव आइतबार विश्वकपको मञ्चमा देखिने भएको छ। विश्वकपको अन्तिम १६ को खेलमा ब्राजिल र नर्वे न्यूयोर्क न्यूजर्सी रंगशालामा आमनेसामने हुँदैछन्।
नर्वेका भरपर्दा स्ट्राइकर अर्लिङ हालान्ड र ब्राजिलका बलिया डिफेन्डर ग्याब्रिएलबीचको भिडन्त नै यो खेलको मुख्य आकर्षण हुनेछ। म्यानचेस्टर सिटी र आर्सनलबाट खेल्ने क्रममा यी दुईबीच सुरु भएको पुरानो प्रतिस्पर्धा कयौँ पटक मैदानमै आक्रोशका रूपमा पोखिइसकेको छ।
यी दुईमध्ये जसले उत्कृष्ट प्रदर्शन गर्छ, उसैको टोली क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो छ। यस खेलको विजेताले अर्को चरणमा इङ्ल्यान्ड वा मेक्सिकोमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। पूर्वस्ट्राइकर क्रिस सटनका अनुसार लियोनेल मेस्सी, किलियन एमबाप्पे र ह्यारी केन जस्ता खेलाडीबीच गोल्डेन बुटका लागि प्रतिस्पर्धा भए पनि यो खेलको जस्तो व्यक्तिगत भिडन्त कतै देखिएको छैन।
उनले यी दुई खेलाडीबीच मैदानभित्र चर्को असन्तुष्टि र दुश्मनी रहेको उल्लेख गर्दै यसले खेलको नतिजामा ठूलो असर पार्ने बताए। उनीहरूबीच एकअर्काप्रति खेलाडीका रूपमा सम्मान भए पनि व्यक्तिगत रूपमा भने सम्बन्ध राम्रो नरहेको प्रस्ट देखिन्छ।
इङ्ल्यान्डका पूर्वकप्तान एलन सिएररले पनि यो भिडन्तलाई लिएर उत्साह व्यक्त गरेका छन्। उनले विपक्षीलाई मन पराउनु नै पर्छ भन्ने नभएकाले मैदानमा देखिने यस्तो आक्रामक प्रतिस्पर्धाले फुटबललाई थप रोमान्चक बनाउने टिप्पणी गरे।
यो खेलमा अर्को एउटा रोचक संयोग पनि जोडिएको छ। पाँच पटकको विश्वविजेता ब्राजिलले इतिहासमा अहिलेसम्म नर्वेलाई हराउन सकेको छैन। यी दुई टोलीबीच भएका चार खेलमध्ये दुई खेल बराबरीमा सकिएका छन् भने दुई खेल नर्वेले जितेको छ। नर्वे नै विश्वको यस्तो एकमात्र टोली हो, जसका विरुद्ध ब्राजिलले अहिलेसम्म जित निकाल्न सकेको छैन।
अर्लिङ हालान्ड र ग्याब्रिएलबीचको यो चर्चित विवादको सुरुवात सन् २०२४ सेप्टेम्बर २२ आइतबारका दिन भएको थियो। प्रिमियर लिगअन्तर्गत इतिहाद स्टेडियममा भएको म्यानचेस्टर सिटी र आर्सनलबीचको खेल नै यो दुश्मनीको मुख्य कारण बन्यो।
पहिलो हाफको इन्जुरी समयमा लेआन्द्रो ट्रोसार्डले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थाहा नै छ। खेलमा १० खेलाडी मात्र भए पनि आर्सनलले उत्कृष्ट रक्षात्मक खेल खेल्दै जितको नजिक पुगिसकेको थियो। तर, खेलको ९८औँ मिनेटमा म्यानचेस्टर सिटीका जोन स्टोनले बराबरी गोल गरेपछि आर्सनलको त्यो ऐतिहासिक जित हात पार्ने सपना अधुरै रह्यो।
सिटीले बराबरी गोल गरेलगत्तै मैदानमा एकाएक तनावको स्थिति सिर्जना भयो। गोल भएपछि हलान्डले दौडिएर नेटबाट बल निकाले र सोही निराशाका बीच आफ्नो आर्सनलको जर्सीले मुख छोपेर उभिएका डिफेन्डर ग्याब्रिएलको टाउकोको पछाडिको भागमा बलले जोडले प्रहार गरे।
आफ्नो टाउकोमा रिसको झोँकमा बल प्रहार गरिएको त्यो घटनालाई ग्याब्रिएलले अहिलेसम्म पनि बिर्सन सकेका छैनन्। खेल २–२ को बराबरीमा सकिएपछि पनि हालान्डको आक्रोश शान्त भएको थिएन।
खेल सकिएको ह्विसल बजेलगत्तै मैदानमै आर्सनलका प्रशिक्षक मिकेल आर्टेटासँग भेट हुँदा हलान्डले उनलाई दुई पटक ‘स्टे हम्बल’ (सधैँ विनम्र बन) भन्दै जिस्काएका थिए। यस घटनाले दुई टोली र खेलाडीबीचको सम्बन्धलाई थप तितो बनाएको थियो।
यद्यपि, हलान्डले भने यस विषयलाई सामान्य रूपमा लिँदै मैदानको कुरा मैदानमै रहने बताएका छन्। उनले फुटबललाई एक लडाइँ र युद्धको रूपमा परिभाषित गर्दै खेलका क्रममा यस्ता उक्साउने खालका गतिविधिहरू हुनु सामान्य र खेलकै एउटा हिस्सा भएको टिप्पणी गरे।
सन् २०२५ फेब्रुअरीमा आर्सनलले म्यानचेस्टर सिटीलाई ५–१ को भारी अन्तरले पराजित गर्दा यो दुश्मनीले नयाँ मोड लियो। खेलमा आर्सनलले गोल गरेपछि ग्याब्रिएलले हलान्डको मुखै अगाडि गएर चिच्याउँदै आफ्नो बदला लिएका थिए। ग्याब्रिएलले पछि सो कुरा स्वीकार गर्दै हलान्डले आफ्नो टाउकोमा बल प्रहार गरेर उक्साएकाले आफूले पनि सोही शैलीमा उसको कानैमा गएर जवाफ दिएको बताएका थिए।
यो बदलाको शृङ्खला यत्तिमै रोकिएन। अप्रिलमा आर्सनलविरुद्ध २–१ को जित निकाल्ने क्रममा निर्णायक गोल गरेपछि हलान्डले टिभी क्यामराको अगाडि गएर जिस्किँदै एउटा चर्चित गीतको अंश गाएर उत्सव मनाए। सोही खेलका क्रममा ग्याब्रिएलले हलान्डलाई टाउकोले प्रहार गर्ने प्रयास (हेडबट) गरे पनि रेफ्री एन्थनी टेलरले दुवैलाई पहेँलो कार्ड मात्र दिएपछि आर्सनलका डिफेन्डर रातो कार्ड पाउनबाट जोगिएका थिए।
आर्सनलका यी मुख्य डिफेन्डरले हलान्डलाई जवाफ फर्काउन धेरै समय पर्खनु परेन। मे महिनामा आर्सनलले २४ वर्षपछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेपछि ग्याब्रिएलले ट्रफी उचालेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे। उनले सो पोस्टको ब्याकग्राउन्ड म्युजिकमा हलान्डले आफूलाई जिस्काउन प्रयोग गरेकै गीत राखेर कडा व्यङ्ग्य गरे।
अहिले तिनै दुई खेलाडी विश्वकपको अन्तिम १६ को नकआउट खेलमा न्यूयोर्क न्यूजर्सी रंगशालामा आमनेसामने हुँदैछन्। प्रिमियर लिगमा उपाधिको दबाब भए पनि विश्वकपको यो मञ्च त्योभन्दा धेरै ठूलो हो, जहाँ हार्ने टोलीका लागि कुनै दोस्रो मौका हुने छैन र उनीहरू घर फर्कनुपर्नेछ।
पूर्वखेलाडी क्रिस सटनका अनुसार दुवै खेलाडीको शारीरिक रूपमा आक्रामक खेल्ने प्रवृत्तिका कारण मैदानमा फेरि पनि तनाव उत्पन्न हुने निश्चित छ। विगतका सिजनहरूमा सिटी र आर्सनलबीचको हरेक भिडन्तमा यी दुई खेलाडी नै केन्द्रमा रहँदै आएका छन्। यसपटक रेफ्रीले उनीहरूका हरेक गतिविधिलाई नजिकबाट नियाल्नुपर्ने देखिन्छ। नर्वेले आइभोरी कोस्टलाई हराएर ब्राजिलसँगको भेट पक्का गरेदेखि नै यो व्यक्तिगत भिडन्तलाई लिएर फुटबल जगतमा निकै चासो बढेको छ।
क्लब फुटबलको तथ्याङ्क हेर्ने हो भने ग्याब्रिएलविरुद्ध हलान्डको रेकर्ड राम्रो देखिएको छ। उनीहरू आमनेसामने भएका ११ खेलमा हलान्डले ६ गोल गरेका छन्, जसमा सिटीले पाँच र आर्सनलले दुई खेल जितेका छन् भने चार खेल बराबरीमा सकिएका छन्। हलान्ड यस विश्वकपमा ५ गोलसहित गोल्डेन बुटको दौडमा छन् भने कार्लो एन्सेलोटीको प्रशिक्षणमा रहेको ब्राजिलका लागि ग्याब्रिएल रक्षापङ्क्तिका मुख्य खम्बा हुन्।
पूर्वखेलाडी क्रिस सटनका अनुसार हलान्ड र ग्याब्रिएलमध्ये जसले बाजी मार्छ, उसैको टोली क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो रहनेछ। नर्वेले जित्न सक्ने क्षमता राखे पनि ब्राजिलसँग कार्लो एनसेलोटी जस्ता अनुभवी र चतुर प्रशिक्षक भएकाले खेल निकै रोमान्चक हुने उनको बुझाइ छ।
एनसेलोटीको रणनीतिक क्षमताका कारण ब्राजिलले यो खेल जित्न सक्ने अनुमान धेरैले गरेका छन्। विगतको जस्तो आकर्षक र पूर्ण आक्रामक फुटबल खेल्ने ब्राजिलियन शैलीभन्दा फरक अहिलेको टोली रक्षात्मक रूपमा बस्न र काउन्टर अट्याकमा भिनिसियस जुनियरको गति प्रयोग गर्न रुचाउँछ।
ब्राजिलको टोलीमा युवा खेलाडी रायन जस्ता उदीयमान प्रतिभाहरू रहेका छन्, जसले विपक्षीलाई कडा चुनौती दिन सक्छन्। हालको ब्राजिलियन टोलीसँग कुनै निश्चित शैली नभए पनि उनीहरू व्यक्तिगत क्षमता र खेलका महत्त्वपूर्ण क्षणहरूको फाइदा उठाउन माहिर छन्।
अर्कोतर्फ सटनले नर्वेको क्षमतालाई पनि कम आँक्न नमिल्ने बताएका छन्। टोलीसँग हलान्ड जस्ता आक्रामक स्ट्राइकर मात्र नभएर आर्सनललाई उपाधि जिताउन मुख्य भूमिका खेलेका कप्तान मार्टिन ओडेगार्ड जस्ता उत्कृष्ट मिडफिल्डर समेत छन्, जो चोटमुक्त हुँदै आफ्नो लयमा फर्किएका छन्।









प्रतिक्रिया