
पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर बढिरहेको सेयर बजारमा साताको अन्तिम दिन भने ब्रेक लागेको छ। शुक्रबार नेप्से परिसूचक ८.३० अंकले घटेर २ हजार ६ सय ५३.४० विन्दुमा झरेको छ।
परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स २.६५ अंक, फ्लोट इण्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंकले ओरालो लागेका छन्। नेप्से सूचक घटे पनि बजारमा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ।
बिहीबार ४ अर्ब ११ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा शुक्रबार ३ सय ४५ कम्पनीको ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
बजार घटे पनि तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यसैगरी नेपाल फाइनान्सको सेयर मूल्य करिब १५ प्रतिशत र खानी खोला हाइड्रोपावरको मूल्य साढे ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अर्कोतर्फ अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने सर्वाधिक १३.६५ प्रतिशतले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा ४ प्रतिशत एग्रीकल्चरल बण्ड ४३ करोड रुपैयाँसहित शीर्ष स्थानमा रह्यो। ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ को करिब ४० करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले वृद्धि भएको छ।
यसबाहेक विकास बैंक, जलविद्युत, लघुवित्त र व्यापार उपसमूहको परिसूचकमा सामान्य सुधार देखिएको छ। सामूहिक रूपमा बजार घटाउन मुख्य भूमिका खेलेको बैंकिङ्ग उपसमूहको परिसूचक भने सर्वाधिक ०.९६ प्रतिशतले ओरालो लागेको छ।










प्रतिक्रिया