
‘बाजेको सेकुवा लिमिटेड’ ले धितोपत्र बजारमा प्रवेश गर्ने अन्तिम तयारी पूरा गरेको छ। रेष्टुरेन्ट क्षेत्रबाट पहिलो कम्पनीका रूपमा पूँजी बजारमा छिर्न लागेको यस कम्पनीले सर्वसाधारण र संस्थापक दुवैका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विशेष प्रस्ताव अगाडि सारेको हो।
कम्पनीले आफ्नो पूँजीगत संरचना र आगामी व्यावसायिक विस्तारको योजनालाई मूर्तरूप दिन साउन १ गते विशेष साधारण सभा बोलाएको छ। काठमाडौँको बत्तीसपुतलीस्थित रजिष्टर्ड कार्यालयमा बस्ने उक्त सभाले सेयर निष्कासनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गर्नेछ।
सर्वसाधारणका लागि कुल जारी पूँजीको २० प्रतिशत सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत बिक्री गर्ने कम्पनीको तयारी छ। विशेष साधारण सभाले सञ्चालक समितिलाई सेयरको मूल्य तय गर्ने र बिक्री प्रबन्धक नियुक्त गर्ने लगायतका सम्पूर्ण अख्तियारी प्रदान गर्नेछ।
संस्थापक तर्फबाट हाल ६० करोड रुपैयाँ चुक्तापूँजी कायम रहेकोमा कम्पनीले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो। यस प्रक्रियापछि कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ पुग्नेछ भने कम्पनीको अधिकृत पूँजी १ अरब रुपैयाँ रहेको छ।
पूँजी बजारमा प्रवेश गर्नुअघि केयर रेटिङ्ग नेपालले बाजेको सेकुवालाई ‘केयर एनपी त्रिपल बी’ (CARE-NP BBB) इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यम स्तरको सुरक्षित रहेको सङ्केत गर्दछ।
आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्मको अवधिमा कम्पनीको सञ्चालन आम्दानी करिब ३१ प्रतिशतले वृद्धि भई ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ। नेपालमा सङ्गठित रेष्टुरेन्ट सेवाको माग बढ्दै जानु र कम्पनीले आफ्ना आउटलेटहरू विस्तार गर्दै लैजानुले आम्दानीमा वृद्धि भएको हो।
झण्डै पाँच दशकअघि सिनामङ्गलस्थित एयरपोर्टको चौरबाट सानो पसलका रूपमा सुरु भएको यो यात्रा अहिले नेपालकै प्रतिष्ठित स्वदेशी रेष्टुरेन्ट ब्राण्डका रूपमा स्थापित छ। हाल नेपालभित्र र बाहिर गरी यसका २९ ओटा शाखाहरू सञ्चालनमा रहेका छन्।
२०६६ साल कात्तिक २३ गते प्राइभेट कम्पनीका रूपमा दर्ता भएको यो व्यवसाय २०८२ साल असार २५ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो। जलविद्युत र वित्तीय संस्थाको वर्चस्व रहेको सेयर बजारमा बाजेको सेकुवाको प्रवेशले वास्तविक क्षेत्र (Real Sector) को प्रतिनिधित्व बढाउनेछ।









प्रतिक्रिया