
पाल्पाबाट चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार यो वर्ष ३ लाख ४७ हजार ९ सय ६९ किलो दालचिनी भारत निकासी भएको हो।
यो परिमाण पछिल्ला वर्षहरूको तुलनामा सबैभन्दा बढी हो। कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले चालु आर्थिक वर्षमा दालचिनीसँगै १२ लाख ८८ हजार ४ सय ८२ किलो तेजपात पनि भारत निर्यात भएको बताए।
कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा १ लाख २१ हजार १० किलो दालचिनी र ८ लाख ८१ हजार ७ सय ३१ किलो तेजपात निकासी भएको थियो। यसैगरी आर्थिक वर्ष २०८०/८१ मा १ लाख ७६ हजार ६ सय ९७ किलो दालचिनी निर्यात भएको देखिन्छ।
त्यसअघि आर्थिक वर्ष २०७९/८० मा १ लाख ८३ हजार ५ सय ९० किलो, २०७८/७९ मा १ लाख ९० हजार २ सय १४ किलो र २०७७/७८ मा १ लाख ९१ हजार ४ सय १५ किलो दालचिनी भारत पठाइएको थियो।
दालचिनी जस्तै तेजपातको निर्यातमा पनि निरन्तर वृद्धि भइरहेको छ। आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ६ हजार ७ सय ९० किलो निर्यात भएको तेजपात गत वर्ष ८ लाख ८१ हजार ७ सय ३१ किलो पुगेको थियो।
पाल्पामा उत्पादन हुने तेजपात र दालचिनीको प्रमुख बजार भारत नै हो। यी वनजन्य पैदावार यहाँका नागरिकको मुख्य आम्दानीको माध्यम बनेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताए।
अहिले स्थानीय किसानले तेजपात प्रतिकिलो ५० देखि ६० रुपैयाँ र दालचिनी प्रतिकिलो १ सय रुपैयाँमा बिक्री गर्दै आएका छन्। यस क्षेत्रको उत्पादनले भारतीय बजारमा राम्रो स्थान पाएको छ।
दालचिनी र तेजपातको उत्पादन तथा बजार विस्तारमा निरन्तरता दिनसके स्थानीय कृषकको आम्दानी वृद्धि हुने प्रमुख श्रेष्ठको भनाइ छ। यसले जिल्लाको वनजन्य उत्पादनको निर्यात प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।










प्रतिक्रिया