नेपालमै गुणस्तरीय शिक्षा र अवसर सिर्जना गर्न सरकार प्रयासरत : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को शुक्रबार आयोजित ३१औँ दीक्षान्त समारोहमा उनले यस्तो धारणा राखेका हुन्।

Advertisement

समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको मन्त्री पोखरेलले उल्लेख गरे। नयाँपिँढीले सोचेजस्तो समाज निर्माणार्थ सरकार प्रयासरत रहेको भन्दै उनले युवाहरूलाई नआत्तिन र नेपालमै अवसर पाइने तथा सिर्जना गरिने आश्वासन दिए।

काठमाडौँ विश्वविद्यालयबाट हालसम्म विविध विधामा ५१ हजारभन्दा बढी जनशक्ति उत्पादन भइसकेको जानकारी मन्त्री पोखरेलले दिए। उत्पादित जनशक्तिले सरकारलाई सहयोग गरेर समुन्नत समाजको सपना पूरा गर्नुपर्ने उनको अपेक्षा छ।

उनले केयुबाट हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालमै सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन दीक्षित विद्यार्थीलाई आग्रह गरे। समारोहमा मन्त्री पोखरेलले विभिन्न विधामा उपाधि प्राप्त विद्यार्थीहरूलाई शैक्षिक प्रमाणपत्र समेत प्रदान गरेका थिए।

विश्वविद्यालयका उपकुलपति प्रा डा ऋषिकेश वाग्लेले कृत्रिम बुद्धिमत्ता (एआई) र ‘अटोमेशन’ को तीव्र विकास भइरहेको सन्दर्भ जोडे। उनले प्राविधिक दक्षता मात्र नभई विवेक, नैतिकता, सांस्कृतिक चेतना र राष्ट्रप्रतिको जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए।

समारोहमा आमन्त्रित अतिथि भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एण्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा डा भूपेन्द्र पाटद्र्र्धनले नेपाल–भारतबीच शिक्षा र अनुसन्धानको आदानप्रदान सुदृढ बनाउनुपर्ने बताए। उनले विश्वविद्यालयमा प्राप्त शिक्षालाई आत्मविश्वास, नैतिकता र जिम्मेवारीका साथ समाजको हितमा प्रयोग गर्न आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री