
नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति सेवाग्राहीको सन्तुष्टि मापन गर्न पहिलोपटक ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ सञ्चालन गर्ने भएको छ। केन्द्रीय बैंकले वित्तीय सेवालाई अझ प्रभावकारी, गुणस्तरीय र सेवामुखी बनाउनका लागि यो कदम चालेको हो।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार यो सर्वेक्षण मुलुकका सबै ७७ जिल्लामा सञ्चालन हुनेछ। सर्वेक्षणका माध्यमबाट वित्तीय क्षेत्रसम्बन्धी नीतिगत व्यवस्था समीक्षा तथा सुधारका लागि आवश्यक मार्गदर्शन प्राप्त हुने विश्वास गरिएको छ।
मुलुकका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट र्यान्डम स्याम्पलिङ विधिमार्फत वडाहरू छनोट गरिनेछ। यसरी छनोट भएका वडाभित्र सिस्टेमेटिक र्यान्डम स्याम्पलिङ विधिबाट उत्तरदाता चयन गर्ने प्रक्रिया अघि बढाइनेछ।
मतदाता नामावलीमा रहेका व्यक्तिहरू तथा बाक्लो बस्ती भएका क्षेत्रमा स्थान छनोट गरी १० हजार ४ सय ५ वटा नमुना संकलन गरिने प्रवक्ता पौडेलले बताए। सर्वेक्षणमा वित्तीय सेवाको पहुँच, सेवाको गुणस्तर, पारदर्शिता र गुनासो व्यवस्थापनजस्ता विषय समेटिनेछन्।
यसका साथै वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रति ग्राहकहरूको धारणा र अनुभव समेत संकलन गरिनेछ। सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय सेवालाई थप उत्तरदायी बनाउन नीतिगत तहमा ठूलो सहयोग पुग्ने बैंकको भनाइ छ।
राष्ट्र बैंकले सर्वेक्षणमा सहभागी हुने सबै उत्तरदातालाई निष्पक्ष र वास्तविक जानकारी उपलब्ध गराएर सहयोग गर्न आग्रह गरेको छ।










प्रतिक्रिया