
यामाहा मोटर कम्पनीले आफ्नो ७१औँ वार्षिकोत्सवका अवसरमा नेपालका सातै प्रदेशमा विविध कार्यक्रम आयोजना गर्दै ‘यामाहा डे’ मनाएको छ। हरेक वर्ष जुलाई १ का दिन मनाइने यस उत्सवमा कम्पनीले आफ्ना ग्राहक, कर्मचारी, डिलर र समुदायलाई समेटेर सात दशक लामो यात्राको स्मरण गरेको हो।
नेपालभर रहेका शोरुम, डिलरशिप र आउटलेटहरूमा एकैसाथ केक काटेर उद्घाटन गरिएको समारोहमा कम्पनीमा २० वर्षदेखि निरन्तर सेवा पुर्याएका कर्मचारीलाई सम्मानित गरियो। देशका १ सयभन्दा बढी डिलरहरू डिजिटल माध्यमबाट जोडिएको यस कार्यक्रममा यामाहा मोटर इण्डियाको डिजिटल उपस्थिति पनि रहेको थियो।
वार्षिकोत्सवको अवसरमा यामाहाले आफ्ना ग्राहकका लागि विभिन्न छुट तथा विशेष अफरहरू सार्वजनिक गरेको छ। देशभरका सेवा केन्द्रहरूमा ग्राहकलाई लेबर चार्जमा २५ प्रतिशत छुट दिइएको थियो।
यसैगरी ‘७ प्रदेश, ७ ग्राहक’ अभियान अन्तर्गत प्रत्येक प्रदेशबाट एक-एक जना भाग्यशाली ग्राहकलाई सर्भिस चार्जमा १ सय प्रतिशत क्यासब्याक प्रदान गरियो। जुलाई १ मा मोटरसाइकल डेलिभरी लिने ग्राहकलाई धन्यवादस्वरूप विशेष वार्षिकोत्सव चकलेट वितरण गरिएको थियो।
कम्पनीले सामाजिक सेवा अन्तर्गत देशका प्रमुख शहरस्थित ७ शोरुममार्फत रक्तदान कार्यक्रम आयोजना गरी करिब ३ सय ५० युनिट रगत संकलन गरेको छ। सुदूरपश्चिमको धनगढी, गण्डकीको पोखरा, बागमतीको नक्साल र गट्ठाघर, नारायणीको भरतपुर, जनकपुरको बर्दिबास तथा कोशीको इटहरीमा रक्तदान सम्पन्न भएको हो।
यसैगरी विराटनगरस्थित आफ्नो प्लान्टमा वृक्षारोपण गरिएको थियो। यामाहा पर्साले खैरहनीस्थित श्री धर्मेश्वर आधारभूत विद्यालयका ७ जना विपन्न बालबालिकाको कक्षा १२ सम्मको अध्ययन खर्च र शैक्षिक सामग्रीको जिम्मेवारी लिएको छ।
पर्सामा आयोजित कार्यक्रममा १६ वर्षदेखि ४० वर्षसम्म निरन्तर यामाहा चढ्ने ६ जना पुराना ग्राहक र १ लाखदेखि २ लाख किलोमिटरसम्म यात्रा तय गरेका ५ जना राइडरलाई सम्मानपत्र प्रदान गरियो। पूर्वी चितवनमा सेकेन्ड ह्यान्ड सवारी व्यवसाय सुरु गर्ने एक उद्यमी र ३२ वर्षदेखि सक्रिय तीन जना मेकानिक पनि सम्मानित भए।
एमएडब्लु (MAW) राइड्सका प्रबन्ध निर्देशक तथा अध्यक्ष विष्णु अग्रवालले यामाहा नेपालभरका ४ सय परिवारको रोजगारीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएको बताए। उनले ७१ वर्षको यात्रामा साथ दिने डिलरहरूप्रति आभार प्रकट गर्दै यामाहा समुदायसँगै अघि बढ्ने ब्रान्ड भएको उल्लेख गरे।
कम्पनीले काठमाडौँको व्यस्त समयमा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउन प्रहरीसँग सहकार्य गर्दै सडक सुरक्षा सचेतना फैलाएको थियो। कम्पनीको राइडिङ कम्युनिटी ‘ब्लू स्ट्रिक्स’ ले बूढानीलकण्ठस्थित माउन्टेन चिल्ड्रेन्स होम बालगृहमा परोपकारी राइड आयोजना गर्यो।
कार्यक्रममा नेपालका ब्रान्ड एम्बेसडर अनुप बिक्रम शाही, ग्लोबल चेयरम्यान सिटारा सान तथा जापानका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरे। एमएडब्लु ग्रुप अन्तर्गत सञ्चालित यामाहा नेपालले रक्तदान अभियान सफल बनाउन सहयोग गर्ने एमएडब्लु फाउन्डेसन र लायन्स क्लब अफ काठमाडौँ–समर्पणप्रति आभार व्यक्त गरेको छ।










प्रतिक्रिया