
एन आई सी एशिया बैंकले सुदूरपश्चिम र कर्णाली प्रदेशका चारवटा सामुदायिक विद्यालयलाई शैक्षिक तथा प्राविधिक सामग्री सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डडेल्धुरा, रुकुम पश्चिम र अछामका विद्यालयहरूलाई ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर उपलब्ध गराएको हो।
बैंकले डडेल्धुराको नवदुर्गा गाउँपालिका–१, असुर्पास्थित श्री भुवनेश्वरी माध्यमिक विद्यालयलाई दुई थान प्रोजेक्टर प्रदान गरेको छ। १ सय ५३ भन्दा धेरै विद्यार्थी अध्ययनरत सो विद्यालयका प्रधानाध्यापक दीपक प्रसाद भट्टलाई बैंकका डडेल्धुरा शाखा प्रमुख पदम राज भट्टले असार १७ गते बुधबार उक्त सामग्री हस्तान्तरण गरे।
त्यसैगरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँस्थित श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बैंकले एक थान प्रिन्टर उपलब्ध गराएको छ। १ हजार ८७ भन्दा धेरै विद्यार्थी अध्ययन गरिरहेको उक्त विद्यालयका प्रधानाध्यापक कम प्रसाद देवकोटालाई बैंकका रुकुम पश्चिम शाखा प्रमुख ओमकार घर्ती मगरले असार १८ गते बिहीबार सो प्रिन्टर दिए।
अछामको मंगलसेन नगरपालिका–९, ओलीगाउँस्थित श्री मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई बैंकले दुई थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेको छ। ४ सय ८३ भन्दा धेरै विद्यार्थी अध्ययनरत सो विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रमेश बहादुर रावल र प्रधानाध्यापक तेज बहादुर रावललाई बैंकका साँफेबगर शाखा प्रमुख सुरेन्द्र बहादुर थापाले असार १८ गते बिहीबार ती सामग्री बुझाए।
सोही दिन मंगलसेन नगरपालिका–१४ कालागाउँस्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई पनि सोही परिमाणका प्राविधिक सामग्री हस्तान्तरण गरिएको छ। ४ सय ५ भन्दा धेरै विद्यार्थी गुडिरहेको उक्त विद्यालयका प्रधानाध्यापक छत्र विक्रम रावललाई शाखा प्रमुख थापाले दुई थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर दिए।
यो सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता आउनुका साथै विद्यालयहरूमा गुणस्तरीय शिक्षा, प्रविधिको पहुँच र प्रशासनिक कार्यमा ठूलो मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।










प्रतिक्रिया