आठ वर्ष बित्दा पनि टुङ्गो लागेन गण्डकी प्रदेशका औद्योगिक क्षेत्रको जग्गा प्राप्ति

गण्डकी प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका रूपमा घोषणा गरेका दुई औद्योगिक क्षेत्र निर्माण अझै सुरु हुन सकेको छैन। कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको आठ वर्ष पुग्दा पनि जग्गा प्राप्तिको प्रक्रिया टुङ्गिन नसकेको हो।

बर्सेनि प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा यी आयोजना प्राथमिकताका साथ समेटिए पनि जग्गा प्राप्तिको प्रक्रिया लम्बिँदा निर्माण कार्य अलपत्र परेको छ। गत वर्ष स्वीकृत गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनलाई पुनः परिमार्जन गर्नुपरेका कारण आयोजना निर्माणमा थप ढिलाइ हुने देखिएको छ।

रूखको सङ्ख्या घटबढ भएपछि पुनः अध्ययन गरिँदै

Advertisement

प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख महराज ढकालले ‘इआइए’ अन्तर्गत वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्न लागिएको बताए। तीन वर्षअघि गरिएको गणनाको तुलनामा अहिले काट्नुपर्ने रूखको सङ्ख्या कतै कम त कतै बढी पाइएकाले पुनः अध्ययन गर्न लागिएको उनको भनाइ छ।

पुराना रूख ढलेका र नयाँ बिरुवा हुर्केका कारण रूखको वास्तविक सङ्ख्या यकिन गर्न दुवै जिल्लाका डिभिजन वन कार्यालयसँग समन्वय भइरहेको छ। प्रदेशको वन तथा वातावरण मन्त्रालयको पत्राचार अनुसार अब परामर्शदाता छनौट गरेर वातावरणीय व्यवस्थापन योजना परिमार्जन भएपछि मात्र जग्गाको भोगाधिकार लिने प्रक्रिया अघि बढ्नेछ।

सङ्घीय मन्त्रिपरिषद्को निर्णयको पर्खाइमा प्रदेश सरकार

प्रस्तावित दुवै औद्योगिक क्षेत्रको जग्गा सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले काट्नुपर्ने रूखको विवरण सङ्घीय वन तथा वातावरण मन्त्रालयमा पठाइने महाशाखाले जनाएको छ। सङ्घीय मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएपछि सङ्घीय मन्त्रिपरिषद्बाट जग्गा भोगाधिकार दिने निर्णय भएपछि मात्र निर्माणको काम सुरु हुनेछ।

प्रदेश सरकारले पुँडीटारमा ५४ करोड रुपैयाँ र लोकाहाखोलामा ७६ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारिसकेको छ। जग्गाको नापजाँच भइसकेकाले अब जग्गा उपलब्ध गराउने सम्बन्धमा प्रदेश सरकार सङ्घीय सरकारको निर्णयको पर्खाइमा छ।

५ हजार रोपनीभन्दा बढी क्षेत्रफलमा बन्ने आयोजना

जग्गाको भोगाधिकार प्राप्त भएपछि पुँडीटारमा ४ हजार ५ सय रोपनी र लोकाहाखोलामा १ सय ४१ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण हुनेछ। पुँडीटार औद्योगिक क्षेत्रले कास्कीको पोखरा–३३ र तनहुँको शुक्लागण्डकी–९ को केही भू–भागलाई समेट्नेछ।

लोकाहाखोला औद्योगिक क्षेत्र नवलपुरको कावासोती–१ र देवचुली–१० मा स्थापना गर्ने योजना रहेको छ। पुँडीटारमा रहेको अव्यवस्थित बसोबासको बस्तीबाहेकको जग्गालाई मात्र समेटेर डिपिआर बनाइए पनि प्रदेश गौरवका आयोजना निर्माणमा ढिलाइ हुँदा नागरिकस्तरमा गुनासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री