
वेनेजुएलाको भूकम्पमा भत्किएको घरको भग्नावशेषबाट १८ दिनको छोरासहित जीवितै उद्धार गरिएकी एक आमाले आफ्नो छोराकै कारण आफू बाँच्न सफल भएको बताएकी छन्। डायना पाटिनोले छोरा जुआन डेविडले आफूलाई ‘सचेत र जागा रहने प्रेरणा’ दिएको सञ्चारमाध्यम बीबीसीलाई बताएकी छन्।
छोरा बाँचेकै कारण आफूमा पनि बाँच्ने आस पलाएको उनले उल्लेख गरिन्। उनले भग्नावशेषभित्र छोराले सास फेरिरहेको सुनिश्चित गर्न बारम्बार उसको नाक छुने गरेको अनुभव सुनाइन्।
बुधबार वेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परी कम्तीमा १ हजार ४ सय ५० जनाको मृत्यु भइसकेको छ। दसौँ हजार मानिस अझै बेपत्ता रहेको यस विपद्लाई त्यहाँकी अन्तरिम राष्ट्रपतिले देशको इतिहासकै ‘सबैभन्दा भीषण प्राकृतिक आपदा’ भनेकी छन्।
यस्तो संकटका बीच सार्वजनिक भएको जुआन डेविडको उद्धार भिडियोले विश्वभरका मानिसको मन छोएको छ। जुआन अहिले वेनेजुएलाका लागि एउटा आशाको प्रतीक बनेका छन्।
राजधानी कराकासको एक क्लिनिकमा उपचार गराइरहेकी डायनाले ला ग्वाइरास्थित आफ्नो आठौँ तलाको फ्ल्याटमा भाँडा माझ्ने क्रममा भूकम्प आएको बताइन्। उनले भूकम्पको धक्का महसुस हुनासाथ छोरालाई काखमा लिइन्।
त्यसपछि भवन भत्किँदा आफू हावामा उडेको र भग्नावशेषको खाल्डोमा खसेको उनले बताइन्। उनको देब्रे खुट्टा कंक्रीटमुनि थिचिएको थियो भने टाउको ढुङ्गाले थिचिएको थियो।
आफ्नो भाइले नाम पुकारेको सुनेपछि डायनाले आफ्नो पूरा शक्ति लगाएर चिच्याउँदै जवाफ दिएकी थिइन्। भाइले उनलाई सकुशल निकाल्ने वाचा पूरा गरे र बिहीबार राति आमा–छोरा दुवैको सुरक्षित उद्धार गरियो।
भूकम्पका बेला कार पार्क गरिरहेका डायनाका पति गेरसन भने पर्खाल नाघेर बच्न सफल भएका थिए। भत्किएको भवन देखेपछि परिवार गुमेको ठानेका गेरसनले श्रीमती र छोरालाई जीवितै पाउँदा आफ्नो पुनर्जन्म भएको महसुस गरे।
सबै सम्पत्ति र घर गुमाए पनि आफ्नो परिवार सुरक्षित रहेकाले अब नयाँ ढंगले जीवनको सुरुवात गर्ने गेरसन र डायनाले बताएका छन्।









प्रतिक्रिया