सिलिचोङमा पहिरोः विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध, ६०० घर अन्धकारमा

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोले ठुलो क्षति पुर्‍याएको छ । वर्षासँगै आएको बाढीपहिरोका कारण तल्लो र माथिल्लो तेन्छोङका २८ घरपरिवार विस्थापित भएका छन् ।

तल्लो र माथिल्लो तेन्छोङ क्षेत्रका २८ परिवार पहिरोको उच्च जोखिममा परेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले स्थानीय सामुदायिक स्वास्थ्यचौकी समेत जोखिममा पारेपछि सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले मनकुमार राई, नौबहादुर राई, मनबहादुर राई, धानराम राई, तिलकप्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मणिधन राई, सन्तोष राई, नन्दु राई, धनबहादुर राई, कल्पना राई, आश्रम राई, प्रविसुक राई, अग्रज राई, पूर्णमान राई, फगेन्द्र राई, बाबुराम राई, विन्दुर राई, कुन्ती राई, धनपूर्ण राई, मङ्गलबहादुर राई, सुकप्रसाद राई, मीरा राई, धनमान राईको परिवार विस्थापित भएको बताए । पहिरोका कारण बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ ।

बाढीपहिरोले सिलिचोङस्थित दुईवटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि ६ सयभन्दा बढी घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । सिसुवामा सञ्चालित ६० किलोवाटको सिसुवाखोला लघुजलविद्युत र ३० किलोवाटको चटेक्मा लघुजलविद्युत आयोजनामा क्षति पुगेको गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताए ।

सिसुवाखोलामा आएको बाढीले यहाँस्थित दुई विद्यालयमा समेत क्षति पुर्‍याएपछि पठनपाठन पूर्ण रूपमा बन्द भएको छ । पहिरोको जोखिम लगातार बढ्दै गएपछि विस्थापित भएका स्थानीयवासी हाल आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् ।

प्रभावित क्षेत्रमा सोमबार जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको छ । सिलिचोङ गाउँपालिकाले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन वा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

बस्तीको तत्काल अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पुनःस्थापनाका लागि कोशी प्रदेश सरकार र सङ्घीय सरकारसँग आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । स्थानीय प्रशासन र गाउँपालिकाले जोखिममा परेका अन्य नागरिकलाई पनि सतर्क रहन अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री