विश्वकपबाट इरान बाहिरिएपछि ‘खुसीले नाचे’अमेरिकी सुरक्षा प्रमुख

अमेरिकाका सेक्रेटरी अफ द डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी मार्कवेन मुलिनले विश्वकपबाट इरान बाहिरिएपछि आफूले ‘खुसीले नाचगान गरेको’ बताएका छन्।

Advertisement

इरान अन्तिम समयको गोलले मान्यता नपाउँदा गोल अन्तरका आधारमा समूह चरणबाटै बाहिरिएको हो। इजिप्टविरुद्धको खेलमा अतिरिक्त समयको गोल अफसाइड घोषित भएपछि प्रशिक्षक अमिर घालेनोइले अमेरिका र इसराइलसँगको द्वन्द्वका कारण आफ्नो टोली प्रतियोगिताकै ‘सबैभन्दा बढी पीडित’ बनेको दाबी गरे।

विश्वकप सुरु हुनुअघि इरानको प्रशिक्षण क्याम्प अमेरिकाको एरिजोनाबाट मेक्सिकोको टिजुआनामा सारिएको थियो। प्रतियोगिताभरि इरानी टोलीले कडा यात्रा प्रतिबन्धको सामना गर्नुपरेको थियो।

शनिबार इजिप्टसँग १–१ गोलको बराबरी खेले पनि इरानको उत्कृष्ट तेस्रो टोलीका रूपमा अघिल्लो चरण पुग्ने सम्भावना बाँकी नै थियो। तर आइतबार अल्जेरिया र अस्ट्रियाबीचको खेल ३–३ गोलको बराबरीमा सकिएपछि इरान आधिकारिक रूपमा बाहिरियो।

सोमबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी मन्त्री मुलिनले इरान बाहिरिएकामा खुसी व्यक्त गरे। उनले इरानको भिसा रद्द गरेर अमेरिकी भूमि छोड्न लगाउन पाउँदा आफू निकै खुसी भएको र एक–दुईवटा गीत गाउँदै नाचेको समेत उल्लेख गरे।

मुलिनले विश्वकपका कुनै पनि टोलीमध्ये इरानका कारण आफूहरूले सबैभन्दा बढी समय खर्चिनुपरेको दाबी गरे। भिसाको सर्तअनुसार इरानलाई पहिलो दुई खेलका लागि खेलको अघिल्लो दिन मात्र अमेरिका प्रवेश गर्ने र खेलकै दिन फर्कनुपर्ने नियम लगाइएको थियो।

सिएटलमा भएको अन्तिम समूह चरणको खेलका लागि भने नियम केही खुकुलो पार्दै दुई दिनअघि आउन दिइएको थियो। यद्यपि शनिबारको खेल सकिएलगत्तै टोली पुनः मेक्सिकोको टिजुआना नै फर्कनुपर्‍यो।

विश्वकपको संयुक्त आयोजक अमेरिकाले आफूहरूमाथि अन्यायपूर्ण व्यवहार गरेको प्रशिक्षक घालेनोइले बताए। उनले टोलीले तयारीका लागि आवश्यक पर्ने समयको आधा समय पनि नपाएको गुनासो गरे।

इरानका कप्तान मेहदी तारेमीले यस्तो तनावले विश्वकपको मज्जा नै बिगार्ने टिप्पणी गरे। उनले अमेरिका ओर्लेको पहिलो क्षणदेखि नै टोलीले कडा मानसिक तनाव भोगेको गुनासो गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री