
नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका कर्मचारीहरूको सहभागितामा ‘एमडीज कप फुटसल टुर्नामेन्ट–२०८३’ आयोजना गरेको छ। काठमाडौँस्थित धनयन्तरी फुटसल मैदानमा सम्पन्न उक्त प्रतियोगितामा बैंकका सातै प्रदेश तथा प्रधान कार्यालयका कर्मचारीहरूको उत्साहजनक सहभागिता रह्यो।
यो खेलकुद गतिविधिले कर्मचारीहरूबीच आपसी समन्वय, सहकार्य र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बैंकले विश्वास व्यक्त गरेको छ। कार्यस्थल बाहिर पनि टिमवर्क र सकारात्मक ऊर्जा विकास गर्न यस्ता कार्यक्रमहरू उपयोगी हुने बताइएको छ।
प्रतियोगिता अन्तर्गत बैंकको व्यवस्थापन टोली र महिला टोलीबीच प्रदर्शनी खेलहरू आयोजना गरिएको थियो। पुरुषतर्फ भने विभिन्न प्रदेश कार्यालय र केन्द्रीय कार्यालयका टोलीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो।

कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी र नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्द लगायत उच्च व्यवस्थापनको सक्रिय सहभागिता रह्यो। खेलमा मुख्य वित्तीय अधिकृत राजेशकुमार पाण्डा, मुख्य व्यवसाय प्रवर्द्धन अधिकृत प्रविणमुनि बज्राचार्य, मुख्य कर्जा अधिकृत रोशन कोइराला, बागमती प्रदेश प्रमुख सुशीलराज श्रेष्ठ र अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।
देशभरबाट १ सय ५० भन्दा बढी कर्मचारीहरूले यस प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाउँदै संस्थाभित्र एकताको भावनालाई थप सुदृढ बनाएका छन्। कार्यक्रम समापनका अवसरमा प्रबन्ध सञ्चालक तिवारी र नायब प्रमुख कार्यकारी अधिकृत आनन्दले विभिन्न विधाका विजेता तथा सहभागी टोलीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरे।
प्रबन्ध सञ्चालक तिवारीले देशभरका कर्मचारीहरूको सक्रिय सहभागिताप्रति आभार प्रकट गर्दै यस्ता कार्यक्रमले बैंकको कर्मचारी संलग्नता र स्वस्थ संस्थागत संस्कृतिलाई अझ मजबुत बनाउने कुरामा जोड दिए। नेपाल एसबीआई बैंकले विगत ३२ वर्षदेखि देशका विभिन्न स्थानबाट निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

हाल यस बैंकले १ सय ३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहित बैंकिङ, १ सय २७ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत आफ्ना ग्राहकहरूलाई सेवा दिँदै आएको छ।









प्रतिक्रिया