इक्वेडरमाथि मेक्सिकोको सानदार जित, विश्वकपको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा सह-आयोजक मेक्सिकोले इक्वेडरलाई २-० गोलले हराउँदै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ।

मेक्सिको सिटीमा भएको खेलमा घरेलु टोलीले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो।

Advertisement

खेलको २२औं मिनेटमा जुलियन क्विनोनेसले बायाँ तर्फबाट बललाई अगाडि बढाउँदै शक्तिशाली सटमार्फत मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए। उनको प्रहार गोलपोस्टको भित्री भागमा लाग्दै जाली चुमेको थियो।

त्यसको ९ मिनेटपछि अर्थात् खेलको ३१औं मिनेटमा अनुभवी स्ट्राइकर राउल जिमेनेजले अर्को दर्शनीय गोल थपे। विपक्षी खेलाडीले डिबक्स नजिकै बल नियन्त्रणमा लिन नसकेको फाइदा उठाउँदै जिमेनेजले २० यार्ड टाढाबाट प्रहार गरेको सट सिधै टप कर्नरमा छिरेको थियो।

पहिलो हाफमा इक्वेडरको रक्षापङ्क्ति निकै कमजोर र दबाबमा देखिएको थियो। यद्यपि इक्वेडरले गोलका केही राम्रा अवसरहरू सिर्जना गरे पनि मेक्सिकन गोलरक्षक बाधक बने।

इक्वेडरका जोन येबोआको एउटा प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो भने अर्को उत्कृष्ट प्रहारलाई मेक्सिकन गोलरक्षक राउल रंगेलले डाइभ गर्दै जोगाए। यो जितसँगै मेक्सिको अर्को चरणमा प्रवेश गरेको छ भने अब उसले अन्तिम १६ मा इंग्ल्याण्ड र प्रजातान्त्रिक गणतन्त्र कङ्गोबिचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री