प्रधानमन्त्री मोदी सेशल्सको सर्वोच्च नागरिक सम्मानबाट सम्मानित

सेशल्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो देशको सबैभन्दा ठूलो नागरिक सम्मान ‘गार्डियन अफ द ब्लू होराइजन’ बाट सम्मानित गरेको छ। प्रधानमन्त्री मोदी यतिबेला सेशल्सको तीन दिने भ्रमणमा रहेका छन्।

Advertisement

सेशल्सका राष्ट्रपति डाक्टर प्याट्रिक हर्मिनीसँगको संयुक्त प्रेस ब्रिफिङमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘गार्डियन अफ द् ब्लू होराइजन’ सम्मान पाउनु आफ्नो र भारतका १ सय ४० करोड नागरिकका लागि गर्व र खुसीको कुरा भएको बताए।

प्रधानमन्त्री मोदीले यो सम्मानलाई विनम्रतापूर्वक स्वीकार गर्दै जलवायु परिवर्तनको चुनौतीसँग लडिरहेका तथा पर्यावरण संरक्षणलाई आगामी पुस्ताप्रतिको आफ्नो दायित्व मान्ने सम्पूर्ण देशहरूमा समर्पित गर्ने बताए।

सेशल्सका राष्ट्रपति डाक्टर प्याट्रिक हर्मिनीले अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई दिइने यो सम्मान सेशल्स गणतन्त्रको सर्वोच्च नागरिक सम्मान भएको बताए। यो सम्मान आफ्नो देशको तर्फबाट गहिरो आदर र पहिचानको प्रतीक भएको उनले उल्लेख गरे।

प्रधानमन्त्री मोदीले आफ्नो यो यात्रा यस्तो ऐतिहासिक समयमा भइरहेको बताए जब सेशल्सले आफ्नो स्वतन्त्रताको ५० वर्ष पूरा गर्दैछ। यसका साथै भारत र सेशल्सबीचको कूटनीतिक सम्बन्धको पनि ५० वर्ष पूरा भइरहेको उनले जानकारी दिए।

हिन्द महासागरले शताब्दीऔँदेखि भारत र सेशल्सको सम्बन्धलाई मजबुत बनाएको उनले उल्लेख गरे। यसको लहरले दुई देशबीचको व्यापार, संस्कृति र जनताबीचको आपसी सम्बन्धलाई लगातार बढावा दिएको उनको भनाइ छ।

भारत र सेशल्सले आर्थिक सहयोग, डिजिटल प्रविधि र कनेक्टिभिटी बढाउन सँगै मिलेर काम गर्ने प्रधानमन्त्री मोदीले बताए। दुवै देशले हिन्द महासागर क्षेत्रमा साझा सुरक्षा र समृद्धिको संकल्पलाई समेत दोहोर्‍याएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री