
देशका विभिन्न क्षेत्रमा आगामी असार १६ र १७ गते मनसुनी गतिविधि तीव्र हुने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाको सम्भावना बढेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। देशका अधिकांश पहाडी तथा तराई क्षेत्र र केही हिमाली क्षेत्रमा मध्यम वर्षाको पनि पूर्वानुमान गरिएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले आइतबार सूचना जारी गर्दै लगातारको वर्षासँगै अकस्मात् बाढी, पहिरो, नदी कटान, र गेग्रान बहावको जोखिम बढ्ने बताए। शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन उनले आग्रह गरे।
खोला तथा खहरे आसपास यात्रा गर्ने र पहिरोको जोखिम भएका बस्तीका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ। नागरिकलाई सुरक्षित स्थानको जानकारी राख्न र जल तथा मौसम विज्ञान विभाग तथा प्राधिकरणबाट जारी हुने पूर्वसूचनाबारे जानकारी लिइरहन भनिएको छ।
मनसुनी विपद्लाई ध्यान दिँदै तीन वटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर र लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि भनिएको छ।
प्राधिकरणले नागरिकलाई वर्षा र बाढीसम्बन्धी जानकारीका लागि १ हजार १ सय ५५ र विपद् सहायताका लागि १ हजार १ सय ४९ नम्बर प्रयोग गर्न आग्रह गरेको छ। आकस्मिक अवस्थामा नेपाल प्रहरीको १ सय र सशस्त्र प्रहरी बल नेपालको १ हजार १ सय १४ हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।










प्रतिक्रिया