
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सडकका कारण सवारी दुर्घटना भएमा ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सरकारले ट्राफिक नियम उलंघन गर्ने नागरिकलाई १ लाख रुपैयाँसम्म जरिवाना असुल गर्ने तयारी गरिरहेका बेला उनले यस्तो माग अघि सारेका हुन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले सडकमा खाल्डो भएर सवारी दुर्घटना भएमा सम्बन्धित सरकारी निकाय र ठेकेदारलाई ज्यानमाराको अभियोग लगाउने गरी सरकारले कानूनी व्यवस्था गर्नुपर्ने बताए । उनले सरकारले जनतालाई मात्र दण्ड दिने गरी कुनैपनि खालको गतिविधि गर्न नपाईने स्पष्ट पारे ।
राज्य पनि जिम्मेवार हुनुपर्ने प्रश्ताव
नागरिकले ट्राफिक नियम उलंघन गर्दा जरिवाना तिर्नु पर्ने भए राज्य पनि उत्तिकै जिम्मेवार हुनुपर्ने नेता शाहीको भनाइ छ । उनले बाटोमा खाल्डो भेटिएमा, ट्राफिक बत्ति बिग्रिएमा राज्यले १ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था गर्नुपर्ने प्रश्ताव राखे ।
यसैगरी ट्राफिक प्रहरीले रुखो व्यवहार गरेमा, राति सडकमा बत्ति बिग्रिएमा र ट्रायल पास भएको १ हप्ताभित्र लाईसेन्स नदिए ५० हजार रुपैयाँ राज्यले तिर्नुपर्ने उनले उल्लेख गरे । नियम पालना र कारबाहीका लागि जनता तयार भए पनि राज्यले आफ्नो कमजोरी लुकाउन नमिल्ने उनको तर्क छ ।
जनतालाई मात्र दण्ड दिनका लागि कानून ल्याउन नहुने भन्दै उनले सरकारले जनताको हित अनुकूलका गतिविधि नगरेको आरोप समेत लगाए ।









प्रतिक्रिया