
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम खेलमा उज्बेकिस्तानमाथि सानदार पुनरागमन जित निकाल्दै डीआर कंगो अन्तिम ३२ मा प्रवेश गरेको छ। सुरुवाती समयमा गोल खाएर पछि परेको अवस्थालाई उल्टाउँदै कंगोले ३-१ को नतिजासहित इतिहास रचेको हो।
यो जितसँगै ३ खेलबाट ४ अंक जोडेको कंगो समूहको तेस्रो स्थानमा रह्यो। उत्कृष्ट तेस्रो टोली बन्दै कंगो ५२ वर्षपछि विश्वकपमा फर्किएको पहिलो प्रयासमै नकआउट चरण पुग्न सफल भयो।
विसा र मायेलेको उत्कृष्ट कमब्याक
एटलान्टा स्टेडियममा भएको खेलको १०औं मिनेटमा उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा पछि परेको कंगोले ६८औं मिनेटमा पेनाल्टीको अवसर पायो, जसमा योआने विसाले सहजै गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
त्यसको १० मिनेटपछि अर्थात् ७८औं मिनेटमा फिस्टन मायेलेले अर्को गोल थपेर कंगोलाई अग्रता दिलाए। खेलको अन्तिम समयमा इन्जुरी मिनेट चल्दै गर्दा विसाले व्यक्तिगत दोस्रो गोल गरेपछि कंगोको ३-१ को जित पक्का भयो।
कोलम्बिया समूह विजेता, पोर्चुगल उपविजेता
यसै समूहको अर्को खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। मियामी स्टेडियममा भएको खेल बराबरीमा सकिएपछि कोलम्बिया ७ अंकका साथ समूह विजेता बन्यो।
पोर्चुगल भने ५ अंक जोड्दै समूह उपविजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेको छ। प्रतियोगिताभरि कुनै अंक जोड्न नसकेको उज्बेकिस्तान भने समूहको पुछारमा रहँदै विश्वकपबाट बाहिरिएको छ।









प्रतिक्रिया