
पेटार सुचिच र निकोला भ्लासिचको उत्कृष्ट प्रदर्शनमा क्रोएसिया जारी फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेको छ। समूह ‘एल’ को रोमाञ्चक खेलमा घानालाई २-१ ले पराजित गर्दै ज्लाट्को डालिचको टोली उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो।
घानाले यसअघि नै अर्को चरणको यात्रा सुरक्षित गरिसकेको थियो। बराबरी खेल्दा पनि उत्कृष्ट तेस्रो टोली बन्दै अघि बढ्ने अवसर भए पनि क्रोएसियाले सुरुदेखि नै जितका लागि आक्रामक खेल खेलेको थियो।
सुचिचको सुरुवाती अग्रता
खेलको १७औं मिनेटमै भ्लासिचको करिब २० यार्ड टाढाको शक्तिशाली प्रहार पोस्टको बाहिरी भागमा लागेर फर्किएको थियो। त्यसपछि दबाब बढाएको क्रोएसियाका लागि ३१औं मिनेटमा सुचिचले करिब ३० यार्ड टाढाबाट सानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए।

पहिलो हाफमा निकै फितलो प्रदर्शन गरेको घानाका एन्टोइन सेमेन्योको एक प्रहार बाहिरिनुबाहेक अन्य उल्लेख्य अवसर बन्न सकेन। खेलमा गोल गर्ने सुचिच २२ वर्ष २ सय ४५ दिनको उमेरमा क्रोएसियाका लागि विश्वकपमा गोल गर्ने दोस्रो कान्छा खेलाडी बने।
भ्लासिचको निर्णायक प्रहार
दोस्रो हाफमा खेल सुधारेको घानाले लगातार दबाब सिर्जना गर्दै ७३औं मिनेटमा खेल बराबरीमा ल्यायो। डेरिक लकासेनले फ्रिकिकमा आएको बललाई नजिकबाट गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए।

तर घानाको त्यो खुसी धेरै समय टिक्न पाएन। खेलको ८३औं मिनेटमा कप्तान लुका मोड्रिचको कर्नर बललाई अनमार्क रहेका भ्लासिचले हेडमार्फत गोल गर्दै क्रोएसियाको जित पक्का गरे।
यो जितसँगै ३ खेलबाट ६ अंक जोडेको क्रोएसिया समूहको दोस्रो स्थानमा रह्यो। आइतबार नै भएको अर्को खेलमा पानामालाई २-० ले हराएको इंग्ल्यान्ड ७ अंकसहित समूह विजेता बन्यो।
घाना ४ अंकका साथ तेस्रो स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गर्यो। पानामा भने अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ।









प्रतिक्रिया