
जुड बेलिङ्घम र ह्यारी केनको गोलमा इङ्ल्यान्ड जारी फिफा विश्वकप २०२६ को समूह ‘एल’ को विजेता बन्दै नकआउट चरणमा पुगेको छ।
न्युयोर्क/न्यु जर्सी स्टेडियममा वर्षाका बीच भएको खेलमा पानामालाई २-० ले पराजित गर्दै इङ्ल्यान्डले शीर्ष स्थान पक्का गर्यो।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पानामाले इङ्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो। घानाविरुद्धको खेलपछि प्रशिक्षक थोमस टुकेलले टोलीमा ५ परिवर्तन गर्दै मोर्गन रोजर्स, मार्कस रासफोर्ड र बुकायो साकालाई सुरुआती अवसर दिए।

केनले तोडे लिनेकरको कीर्तिमान
पहिलो हाफमा रासफोर्डले केही राम्रा अवसर सिर्जना गरे पनि गोल हुन सकेन। खेलको ६२औं मिनेटमा साकाको कर्नर बललाई बेलिङ्घमले भलीमार्फत गोल गर्दै इङ्ल्यान्डलाई सुरुवाती अग्रता दिलाए।

त्यसको ५ मिनेटपछि बेलिङ्घमकै क्रसमा कप्तान केनले हेडमार्फत दोस्रो गोल गरे। यो गोलसँगै केनले इङ्ल्यान्डका लागि विश्वकपमा सर्वाधिक १० गोल गर्ने ग्यारी लिनेकरको कीर्तिमान तोडेका छन्।
नकआउटको यात्रा तय
जितसँगै ३ खेलबाट ७ अंक जोडेको इङ्ल्यान्डले आगामी जुलाई १ मा एटलान्टामा उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। पराजित पानामा भने प्रतियोगिताभरि कुनै गोल र अंक जोड्न नसकी बाहिरिएको छ।
यसै खेलमार्फत गोलरक्षक जोर्डन पिकफोर्ड इङ्ल्यान्डका लागि सर्वाधिक विश्वकप खेल्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। समूहको अर्को खेलमा क्रोएसियाले घानालाई २-१ ले हराउँदै उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान बनाएको छ।









प्रतिक्रिया