
गोन्जालो प्लाटाले दोस्रो हाफमा गरेको निर्णायक गोलको मद्दतमा इक्वेडर फिफा विश्वकप २०२६ को नकआउट चरणमा पुगेको छ।
शुक्रबार बिहान न्यूयोर्क/न्यु जर्सी स्टेडियममा भएको समूह ‘ई’ को अन्तिम खेलमा इक्वेडरले बलियो टोली जर्मनीलाई २–१ ले पराजित गर्दै इतिहास दोहोर्यायो।
यसअघि सन् २००६ मा मात्र नकआउट चरण पुगेको इक्वेडरले २० वर्षपछि फेरि सोही सफलता प्राप्त गरेको हो। खेलमा सुरुवाती अग्रता गुमाएर पनि इक्वेडरले उत्कृष्ट पुनरागमन गर्दै महत्त्वपूर्ण ३ अंक जोड्यो।

सानेको छिटो गोल र आङ्गुलोको जवाफ
खेलको दोस्रो मिनेटमै फ्लोरियन भिर्ट्सको पासमा लिरोय सानेले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाए। यो गोल सन् १९३४ यता विश्वकपमा जर्मनीले गरेको सबैभन्दा छिटो गोलसमेत बन्यो।
तर जर्मनीको त्यो खुसी लामो समयसम्म टिक्न पाएन। खेलको नवौँ मिनेटमा निल्सन आङ्गुलोले बक्सबाहिरबाट शक्तिशाली प्रहार गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
प्लाटाको निर्णायक गोल र जर्मनीको समूह विजेता यात्रा
दोस्रो हाफको ७७औँ मिनेटमा केभिन रोड्रिगेजको हेड पासमा गोन्जालो प्लाटाले उत्कृष्ट गोल गर्दै इक्वेडरको जित सुनिश्चित गरे। त्यसअघि जर्मनीले पाएको पेनाल्टीलाई भिएआर समीक्षाले उल्ट्याइदिएको थियो।

यो जितसँगै इक्वेडर ४ अंक जोड्दै उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा अन्तिम ३२ मा पुगेको छ। पराजित भए पनि जर्मनी गोल अन्तरका आधारमा आइभोरी कोस्टलाई पछि पार्दै समूह विजेताका रूपमा अघिल्लो चरण प्रवेश गर्यो।
म्याच विनर गोल गरेका फरवार्ड प्लाटाले सुरुवाती दुई खेलको संघर्षपछि मिलेको यो सफलता देशका लागि निकै विशेष रहेको बताए। प्लेयर अफ द म्याच घोषित आङ्गुलो र प्रशिक्षक सेबास्टियन बेक्काचेचेले यो जित सम्पूर्ण देश र समर्थकका लागि समर्पित भएको उल्लेख गरे।
जर्मनीका जोशुआ किमिखले भने टोलीले सुरुआत राम्रो गरे पनि दोस्रो हाफमा अनावश्यक रूपमा बल गुमाउँदा हार बेहोर्नुपरेको स्वीकार गरे।









प्रतिक्रिया