
डिसहोम डिजिटल प्रा.लि. अन्तर्गत सञ्चालित ‘डिगो ओटीटी’ इजाजतपत्र (लाइसेन्स) प्राप्त गर्ने नेपालको पहिलो ओटीटी प्लेटफर्म बनेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागबाट प्रचलित राष्ट्रिय प्रसारण नियमावलीबमोजिम डिगोले ओटीटी प्रसारण सेवासम्बन्धी इजाजत प्राप्त गरेको हो।
यस आधिकारिक इजाजत र विश्वव्यापी स्ट्रीमिङ अधिकारले कम्पनीको आधिकारिक रूपमा सेवा सञ्चालन गरिरहेको तथ्यलाई थप सुदृढ बनाएको छ। सदस्यतामा आधारित यस प्लेटफर्मले चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद र वृत्तचित्रलगायतका गुणस्तरीय सामग्री दर्शकमाझ उपलब्ध गराउँदै आएको छ।
आधिकारिक विश्वव्यापी स्ट्रीमिङ अधिकार पाएसँगै नेपाली ओटीटी प्लेटफर्मलाई विश्वव्यापी डिजिटल मनोरञ्जन बजारसँग जोड्ने दिशामा महत्वपूर्ण आधार तयार भएको छ। यसले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप डिजिटल सामग्री वितरण गर्ने कम्पनीको क्षमता र विश्वसनीयतालाई समेत पुष्टि गरेको छ।
डिसहोम डिजिटल प्रा.लि. ले आगामी दिनमा अत्याधुनिक प्रविधि र उत्कृष्ट प्रयोगकर्ता अनुभवमार्फत विश्वस्तरीय मनोरञ्जन सेवा प्रदान गर्ने बताएको छ।
डिगो ओटीटीलाई विश्वस्तरमा प्रतिस्पर्धी नेपाली डिजिटल स्ट्रीमिङ प्लेटफर्मका रूपमा थप विकास गर्दै लैजाने प्रतिबद्धतासमेत कम्पनीले व्यक्त गरेको छ।









प्रतिक्रिया