
दैनिक दुई घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरकिशोरीहरू डिप्रेसन लगायतका मानसिक रोगको उच्च जोखिममा पर्ने गरेका छन्। अस्ट्रेलियामा गरिएको एक दशक लामो अध्ययनले यो तथ्य बाहिर ल्याएको हो।
अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो। १२ देखि १८ वर्षको उमेरमा धेरै सामाजिक सञ्जाल चलाउँदा त्यसको एक वर्षपछि मानसिक स्वास्थ्यमा समस्या देखिने विज्ञप्तिमा उल्लेख छ।
प्रारम्भिक किशोरावस्था उच्च जोखिममा
अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यो अध्ययन मेलबर्नका ९ देखि १९ वर्ष उमेर समूहका करिब १ हजार २ सय सहभागीमाझ गरिएको थियो। अध्ययनका लागि सन् २०२५ मा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु अघिको तथ्याङ्क सङ्कलन गरिएको जनाइएको छ।
यसको प्रभाव १२ देखि १३ वर्ष उमेर समूहका केटीहरूमा सबैभन्दा बढी देखिए पनि जोखिम भने दुवै लिङ्गमा बराबर रहेको छ। प्रारम्भिक किशोरावस्था बालबालिकाको जीवनको महत्त्वपूर्ण समय भएकाले यो उमेरमा विशेष ध्यान दिनुपर्ने अध्ययनका प्रमुख लेखक तथा डीकिन विश्वविद्यालयका वरिष्ठ अनुसन्धान सहयोगी नन्दी विजयकुमारले बताए।
अनलाइन दुर्व्यवहार र हानिकारक सामग्रीको असर
अनुसन्धानकर्ताहरूले सामाजिक सञ्जालको अत्यधिक प्रयोग र हानिकारक अनलाइन सामग्रीको पहुँचले मानसिक समस्या बढाएको चेतावनी दिएका छन्। यसका साथै अनलाइन दुर्व्यवहारका कारण पनि किशोरकिशोरीहरू बढी तनावमा पर्ने गरेको अध्ययनले देखाएको छ।
अध्ययनका निष्कर्षहरूले उमेरअनुसारको सीमा तोक्नुपर्ने, डिजिटल साक्षरता कार्यक्रम ल्याउनुपर्ने र अभिभावकको मार्गदर्शनलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएको सह–लेखक प्रोफेसर सुसान सायरले बताए। यसअघिको अनुसन्धानले पनि करिब तीन चौथाई अस्ट्रेलियाली किशोरकिशोरीहरूले मानसिक चिन्ताको अनुभव गरेको देखाएको थियो। एजेन्सी










प्रतिक्रिया