निगमको आम्दानी २४.९१ प्रतिशतले वृद्धि, १० महिनामा कमायो १४ अर्ब ६९ करोड

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आम्दानीमा पछिल्लो १० महिनामा उल्लेख्य वृद्धि भएको छ। निगमले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना अर्थात् साउनदेखि वैशाखसम्ममा १४ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ। हवाई टिकट तथा कार्गो सेवाबाट भएको यो आम्दानी गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा २४.९१ प्रतिशतले बढी हो।

Advertisement

गत वर्षको यसै अवधिमा निगमले ११ अर्ब ७६ करोड रुपैयाँ व्यापार गरेकोमा यस वर्ष २ अर्ब ९३ करोड रुपैयाँ थप भएको छ। निगमले यो आम्दानीका लागि चालू आवको १० महिनामा ५ लाख ३६ हजार यात्रुलाई सेवा दिएको छ। यसअघि गत आर्थिक वर्षको १० महिनामा भने अघिल्लो वर्ष २०८०/८१ को तुलनामा आम्दानी १ अर्ब ३७ करोड रुपैयाँले घटेको थियो।

गत आवको तुलनामा यो वर्ष निगमले नयाँदिल्लीमा उडान थपेको छ। उडान व्यवस्थापन मिलाएर यात्रु सेवा संख्या बढाउँदा व्यापारमा सुधार आएको हो।

चालू आवको वैशाखसम्म यात्रु संख्या पनि गत वर्षको तुलनामा ८७ हजारले बढेको छ, जबकि गत वर्ष सोही अवधिमा ४ लाख ४९ हजार यात्रुले सेवा पाएका थिए।

Advertisement

गत आर्थिक वर्षमा निगमका आन्तरिक र अन्तर्राष्ट्रिय उडानका जहाज मर्मतसम्भारका नाममा लामो समय थन्किँदा आम्दानी प्रभावित भएको थियो। चालू आवमा यात्रु सेवा बढ्नु र व्यापार विस्तार हुनुलाई निगमले सकारात्मक रूपमा लिएको छ। आगामी आर्थिक वर्षमा यो वृद्धिदरलाई अझै उचाइमा पुऱ्याउने रणनीति निगमले लिएको पुनले बताए।

आन्तरिकतर्फ जहाज अभाव र सेवामूलक मात्रै उडान भएकाले निगमले २१ हजार यात्रुलाई सेवा दिँदै १० करोड रुपैयाँ मात्रै व्यापार गरेको छ। अन्तर्राष्ट्रियतर्फ भने सबैभन्दा बढी यात्रु नयाँदिल्ली उडानमा रहेका छन्। पछिल्लो १० महिनामा नयाँदिल्ली उडानबाट १ लाख २६ हजार यात्रुलाई सेवा दिँदै १ अर्ब २६ करोड रुपैयाँ आम्दानी भएको छ।

निगमको आम्दानीका लागि सबैभन्दा आकर्षक गन्तव्य जापानको नारिता बनेको छ। नारिता उडानबाट मात्रै निगमले पछिल्लो १० महिनामा ४ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ। साउनदेखि वैशाखसम्म सो गन्तव्यमा ६४ हजार यात्रुलाई सेवा दिएको निगमको तथ्याङ्कले देखाउँछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री