
नेपालमा यस वर्षको मनसुन भित्रिन अझै झन्डै एक साता लाग्ने भएको छ। दक्षिण भारतको केरला र तमिलनाडुमा आइपुगेको मनसुन बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्न केही समय लाग्ने देखिएको हो।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बङ्गालको खाडीमा मनसुन पुग्न तीनचार दिन लाग्ने बताए। प्रणालीको सक्रियताका आधारमा एक हप्ता आसपासमा नेपालमा मनसुन भित्रिने अनुमान गरिएको उनले जानकारी दिए।
निर्धारित मितिभन्दा ढिलो हुने
नेपालमा सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने औसत मिति मानिन्छ। यसपटक भारतमै निर्धारित समयभन्दा ढिलो गरी मनसुन सुरु भएकाले नेपालमा पनि केही दिन ढिला हुने देखिएको छ।
मनसुन सक्रिय हुने गतिले यसको आगमनको समय निर्धारण गर्ने मौसमविद् पौडेलले स्पष्ट पारे। उनले प्रणाली छिटो सक्रिय भए छिट्टै र ढिलो सक्रिय भए ढिलो गरी मनसुन भित्रिने बताए।
कम वर्षा र बढी गर्मीको आकलन
यसपालिको मनसुनी सिजनमा नेपालमा औसतभन्दा कम वर्षा हुने प्रारम्भिक अनुमान गरिएको छ। वर्षा कम हुने भएपछि यस वर्ष गर्मी समेत बढ्ने मौसमविद्हरूले आकलन गरेका छन्।
देशका कुनैकुनै क्षेत्रमा भने अतिवृष्टि वा अनावृष्टि हुनसक्ने सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसममा आउने यस्तो उतारचढावले कृषि र जनजीवनमा प्रभाव पार्नसक्ने देखिन्छ।
२ लाखभन्दा बढी नागरिक प्रभावित हुनसक्ने
यो वर्ष मनसुनका कारण मुलुकभर झन्डै ५१ हजार परिवारका २ लाख २६ हजार नागरिक प्रभावित हुनसक्ने अनुमान गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले पूर्वतयारीका कामहरू अघि बढाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जोखिम न्यूनीकरणका लागि प्रतिकार्य राष्ट्रिय योजना बनाएर लागू गरिएको जानकारी दिइन्। विपद्को समयमा तत्काल उद्धार र राहत वितरण गर्न संयन्त्रहरूलाई तयारी अवस्थामा राखिएको उनले बताइन्।










प्रतिक्रिया