
नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरु गरेको छ। सरकारको पछिल्लो कार्यविभाजनबाट साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थप्दै यो नयाँ मन्त्रालय स्थापना गरिएको हो।
यस मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मंगलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका छन्। मन्त्रालयका सचिवका रूपमा इन्जिनियरिङ सेवाकी प्रमिला बज्राचार्यले पनि केही दिनअघि जिम्मेवारी पाएकी थिइन्।
सचिव बज्राचार्यले मन्त्रालयले सिंहदरबारस्थित साविक युवा तथा खेलकुद मन्त्रालयको कार्यालयबाट काम सुरु गरेको जानकारी दिइन्। मन्त्री पुनले नयाँ मन्त्रालयले शून्यबाट काम थाल्नुपर्ने भएकाले पदबहालीपश्चात् मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने निर्णय गरेका थिए।
मन्त्री पुनले भने झैँ आफूहरूले शून्यबाट काम सुरु गरेको सचिव बज्राचार्यले स्पष्ट पारिन्। मन्त्रालयको वेबसाइटको नमुना (टेम्प्लेट) तयार गरेर सूचना प्रविधि विभागलाई दिइसकिएकाले प्रणालीगत कारणले ७२ घण्टापछि अपलोड हुने जानकारी आएको उनले बताइन्।
नवप्रवर्तन मन्त्रालयमा हाल २४ जना कर्मचारीको दरबन्दीले काम गरिरहेको छ। नयाँ सङ्गठन संरचना बनेपछि कर्मचारीको सङ्ख्या थप बढ्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयमै सरकारी निवास कायम गर्नेगरी मन्त्री पुन बुधबारदेखि सिंहदरबारमा सरेका छन्। नयाँ मन्त्रालयको संरचना र नीतिगत सुधारका कामलाई उनले तीव्र रूपमा अघि बढाउने लक्ष्य राखेका छन्।








प्रतिक्रिया