
प्रदर्शनकारीहरूले विरोध प्रदर्शन गरी मेक्सिको सिटीको एजटेका स्टेडियममा पुग्ने बाटो अवरुद्ध गरेका छन्। संयुक्त राज्य अमेरिका र क्यानाडाको सह-आयोजनामा हुन लागेको विश्वकपको उद्घाटन खेलका लागि फुटबल प्रेमीहरूको आवागमन बढ्दा मेक्सिकोको राजधानीमा विरोध प्रदर्शन चर्किएको हो।
मंगलबारको प्रदर्शनमा हजारौँ नागरिकले भाग लिएका थिए। एक हप्ताको निरन्तर आन्दोलनपछि सि.एन.टी.ई. शिक्षक सङ्घबाट अलग भएको एउटा समूहले यस प्रदर्शनको नेतृत्व गरिरहेको छ।
प्रदर्शनकारीहरूलाई बिहीबार विश्वकपको उद्घाटन खेल आयोजना हुने एजटेका स्टेडियममा पुग्नबाट प्रहरीले रोकेको छ। रंगशाला वरपरको क्षेत्रमा हजारौँ प्रहरी अधिकारीहरू तैनाथ गरी सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ।
प्रहरीको घेराउपछि तीन घण्टा लामो सडक प्रदर्शन तोडेर प्रदर्शनकारीहरू तितरबितर भएका छन्। मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाजक्वेजले एक विज्ञप्ति जारी गर्दै आन्दोलन शान्तिपूर्ण रहेको जानकारी दिए।
आन्दोलनरथ सिएनटिई शिक्षक युनियनले तलब वृद्धि र पेन्सन कानुन फिर्ता लिन माग गर्दै गत हप्तादेखि प्रदर्शन गरिरहेको हो। आन्दोलनरथ शिक्षकहरूले मेक्सिको सिटीको जोकालो स्क्वायरमा रहेको विश्वकप फ्यान जोन नजिकै आफ्नो शिविरसमेत स्थापना गरेका छन्।
शिक्षकहरूले बिहीबारका लागि पनि प्रदर्शनको आह्वान गरेका छन्, जसमा बेपत्ता व्यक्तिहरूका परिवारहरू समेत सामेल हुने बताइएको छ। आन्दोलन जारी रहे पनि मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध खेल्ने उद्घाटन खेल र उद्घाटन समारोहका लागि विश्वव्यापी तयारी पूरा भइसकेको जनाएको छ।








प्रतिक्रिया