चार दिनपछि गिरावट रोकियो, नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम भने खुम्चियो

विगत चार कारोबार दिनदेखि लगातार ओरालो लागिरहेको सेयर बजारमा बुधबार भने सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.५७ अंकले बढेर २ हजार ७ सय ३६.१७ विन्दुमा पुगेर बन्द भएको छ।

परिसूचकसँगै फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ। यद्यपि, ठूला कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंकले घटेको छ।

Advertisement

बजार परिसूचकमा सुधार देखिए पनि कारोबार रकममा भने उल्लेख्य गिरावट आएको छ। मंगलबार ६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा बुधबार ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ।

३ सय ५६ कम्पनीको ४९ हजार २ सय ४८ पटकको कारोबारमा ९२ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ।

बुधबारको बजारमा तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ११ प्रतिशत र बुंगल हाइड्रोको सेयर मूल्य करिब ७ प्रतिशतले बढेको छ। यता १०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८६ को मूल्य भने सर्वाधिक ८.७१ प्रतिशतले घटेको छ।

Advertisement

कारोबार रकमका आधारमा बुधबार आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहन सफल भएको छ। सो कम्पनीको २० करोड ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार रकम पनि २० करोड रुपैयाँ नाघेको छ। सिटि होटलको करिब साढे १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

बजारका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंकले बढेको हो।

ओरालो लागेका बाँकी ६ उपसमूहहरूको गिरावट दर भने ०.५० प्रतिशतभन्दा कम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री