
प्रमुख पर्यटकीय गन्तव्य पोखराको फेवातालमा डुङ्गा चढ्ने यात्रु र चालकको पहिलोपटक बिमा गरिएको छ।
फेवा डुङ्गा व्यवसायी सङ्गठनले तालमा डुङ्गा चलाउने चालक तथा सयर गर्ने यात्रुको बिमा गरेको हो।
सङ्गठनले शिखर इन्स्योरेन्स कम्पनीसँग आगामी एक वर्षका लागि लागू हुने गरी यो बिमा सम्झौता गरेको सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए। उनका अनुसार तालमा कुनै किसिमको दुर्घटना भई घाइते भएमा उपचार खर्चबापत १ लाख रुपैयाँ प्रदान गरिने छ भने मानवीय क्षति भएमा परिवारले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
सङ्गठनमा दर्ता भई सञ्चालनमा रहेका डुङ्गाहरूमा मात्र यो नियम लागू हुने अध्यक्ष गिरीले जानकारी दिए। सुरक्षाका दृष्टिकोणले बिमा अत्यावश्यक देखिएकाले लामो प्रयासपछि पहिलोपटक यो व्यवस्था सुरु गरिएको उनले बताए।
फेवातालमा बर्सेनि विभिन्न किसिमका दुर्घटनाहरू हुँदै आएका कारण बिमा गरेसँगै डुङ्गा चालकहरूले सुरक्षाको महसुस गरेका छन्। हाल फेवातालका विभिन्न ८ वटा डुङ्गा स्टेसनबाट ८ सय ४७ डुङ्गा सञ्चालन भइरहेका छन् भने झण्डै ३ सय ५० जना डुङ्गा चालक कार्यरत छन्।
पोखराको प्रमुख पर्यटकीय आकर्षण भएकाले यहाँ घुम्न आउने प्रायः सबै पर्यटक फेवाताल पुग्ने गर्दछन्। फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरका कारण पनि डुङ्गा चढेर दर्शन गर्न जाने पर्यटकको यहाँ सधैँजस्तो घुइँचो हुने गर्दछ।








प्रतिक्रिया