
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ। नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार साउनको तेस्रो सातासम्म सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी प्राविधिक काम भइरहेका छन्।
सुरुङमार्गभित्र उद्धार, आपतकालिन व्यवस्थापन, लाइट तथा भेन्टिलेसनको अवस्था हेर्न र टोल शुल्क उठाउन एक कम्पनीसँग सम्झौता भइसकेको छ। चौबिसै घण्टा सुरुङ सञ्चालन गर्न १५० जना कर्मचारी भर्ना गरिएको छ, जसलाई सिफ्टका आधारमा परिचालन गरिनेछ।
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको सोमबार बसेको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको कूल भौतिक प्रगति ९९ दशमलव ५ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत रहेको जानकारी दिए। सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि युसिन–एआरटी जेभीसँग पाँच वर्षका लागि औपचारिक सम्झौता भइसकेको छ।
दुई हजार ६८८ मिटर लम्बाइको मुख्य सुरुङ र दुई हजार ५५७ मिटरको आपत्कालीन सुरुङमार्ग भएर दैनिक ८ हजार सवारीसाधन आवतजावत गर्ने अनुमान छ। यसबाट वार्षिक ३५ करोड रुपैयाँ बराबरको टोल शुल्क उठ्नेछ भने सेवा प्रदायकलाई वार्षिक २२ करोड रुपैयाँ उपलब्ध गराइनेछ।
समितिको बैठकमा सांसदहरू गोपाल बस्नेत, मदनकुमारी शाह, रञ्जित कर्ण, चन्द्रबहादुर केसी, पदम परियार, युवराज शर्मा, मीनासिंह रखाल, रुक्मिणी कोइराला, सुनिल थापा, गोमादेवी तिमिल्सिना, सोमनाथ पोर्तेल र नरबहादुर विष्टले निर्माण सम्पन्न भइसकेको आयोजना सञ्चालनमा ढिलाइ नगर्न सुझाव दिएका थिए।








प्रतिक्रिया