चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस

महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। काठमाडौँ उपत्यकाको चक्रपथमा बुधबारदेखि सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ।

विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक रूपमा सरल भएकाले डिजेल बसको तुलनामा राम्रो आम्दानी भइरहेको व्यवसायीले बताए। अत्याधुनिक सुविधा समावेश गरिएका आरामदायी सिटको व्यवस्था गरिएको नयाँ विद्युतीय बसहरू ३३ सिट क्षमताका छन्।

Advertisement

शशिला मोटर्स प्रालिले चीनबाट आयात गरेका यी बसहरूमा १४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री जडान गरिएको छ। बसको एक पटक पूर्ण चार्ज गरेपछि करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता छ।

प्रत्येक बसको मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। यात्रु सुरक्षाका आधुनिक प्रणाली तथा व्यवस्थित संरचनाका कारण यी बसहरू निकै सुविधा सम्पन्न छन्।

विद्युतीय सवारीसाधनको विकल्प अब अनिवार्य बन्दै गएको महानगर यातायात प्रालिका सचिव केशव नेपालले बताए। प्रारम्भिक लगानी उच्च भए पनि विद्युतीय बस व्यावसायिक रूपमा उपयुक्त रहेको र आम्दानीका हिसाबले प्रभावकारी रहेकाले थप लगानी विस्तार गर्ने योजना रहेको उनले सुनाए।

यसअघि १२ वटा विद्युतीय बस सफलतापूर्वक सञ्चालनमा आइसकेका महानगर यातायात प्रालिका सञ्चालक समिति सदस्य धर्मराज रिमालले बताए। ठूलो आकारका विद्युतीय बसहरूको प्रवर्द्धन आजको आवश्यकता भएको शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाको भनाइ छ।

Advertisement

महानगर यातायात प्रालिले हाल काठमाडौँ उपत्यका र बाहिर गरी १४० भन्दा बढी सवारीमार्फत सेवा दिइरहेको छ। कम्पनीले २८ सिटी बस र २४ माइक्रोबससहित ५२ वटा विद्युतीय सवारी सञ्चालन गरिरहेको छ।

व्यावसायिक विद्युतीय सवारीसाधनलाई नेपालमा स्थापित गर्ने लक्ष्यसहित कम्पनीले काम गरिरहेको छ। यसका साथै बिक्रीपछिको सेवा प्रणालीलाई समेत आफूहरूले प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री